उद्यमी गुरुङ, महिलालाई आत्मनिर्भरताको पाठ सिकाउँदै
कपिलवस्तु
कपिलवस्तुको बाणगंगा–८, बोडगाउँ स्थित द इभा ब्युटि हब मेकप स्टुडियो महिलाहरुको लागि रोजगारी र सीप विकासको केन्द्र बनेको यो स्टुडियोले बेरोजगार महिलाहरुलाई रोजगार दिनुका साथै सीप सिकाउने थलोको रुपमा आफ्नो पहिचान बनाएको छ। द इभा ब्युटि हबले महिलाहरुलाई आत्मनिर्भरताको पाठ समेत सिकाएको छ ।
दइभा ब्युटिसियनकी प्रोपराइटर संगीता गुरुङ एक प्रेरणादायी महिला उद्यमीको रुपमा उदाएकी छिन्। आफ्नो छुट्टै पहिचान बनाउन सफल गुरुङले करिब ६ वर्षअघि थोरै लगानीमा सुरु गरेको व्यवसायले अहिले ५ सयभन्दा बढी बेरोजगार महिलाहरुलाई रोजगारी दिनुका साथै तालिम प्रदान गरेको छ।
दइभा ब्युटि हबमा केमिकल क्लास, हेयर ट्रिटमेन्ट, कपाल क्याराटिन, मेकअप कला, नेल क्लास लगायत विभिन्न ब्युटिसियन कोर्सहरुको ट्रेनिङ दिइन्छ। संगीता गुरुङले कपिलवस्तुमा रहेको आफ्नो स्टुडियोले महिलाहरुलाई अगाडि बढ्न प्रेरित गरेको बताउँछिन् । दइभा ब्युटि हबले महिलाहरुलाई आफै आत्मनिर्भर हुनुपर्छ र आफूले सिकेको सीप अरुलाई पनि सिकाउनुपर्छ भन्ने पाठ सिकाएको छ। निरन्तरको संघर्षबाट आफू सफल हुने गुरुङको विश्वास छ।
महिलाहरुको आर्थिक अवस्था कमजोर भएका कारणले उनीहरुको आर्थिक स्थिति दिन प्रतिदिन बिग्रँदो छ। महिलाको गरिबी निवारण गर्नका निम्ति दीर्घकालीन तथा अल्पकालीन उद्देश्य लिएकी कपिलवस्तुकी साहसी, सरल र सहयोगी भावना भएकी गुरुङ सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्छिन्। आगामी दिनमा कपिलवस्तुकै एक सफल र प्रेरणादायी युवा महिला उद्यमीको रुपमा आफूलाई स्थापित गर्ने विश्वास संगीता गुरुङले लिएकी छिन्।