मधेशकेन्द्रित आठ दलले भन्यो- सरकारविरुद्ध मोर्चा बनाएका होइनौं
आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको मधेशकेन्द्रित आठ राजनीतिक दलले बताएका छन् । सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले यस्तो बताएका हुन् । ‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन,’ उनले भने ।
समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको उनले दाबी गरे ।
‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइआएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण, अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आजको बैठकमा छलफल भयो,’ चौधरीले भने ।साथै, बैठकले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउने लगायतका विषयमा छलफल भएको उनले जानकारी गराएका छन् ।