शिवराज ४ मा नेतृत्व विकास तालिम सुरु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा स्थानीयवासीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तीन दिने तालिमको शुभारम्भ भएको छ ।
शिवराज ४ का वडा अध्यक्ष नसिम अहमद खानले तालिममार्फत स्थानीयवासीहरूलाई नेतृत्व विकास र प्रस्तावना लेखनका क्षेत्रमा दक्ष बनाउन मद्दत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहका योजनाहरू र कार्यक्रमहरूमा नागरिकहरूको सहभागिता महत्त्वपूर्ण छ, जसले स्थानीय विकासमा ठुलो भूमिका खेल्छ ।”
यो तालिम कपिलवस्तु विकास मञ्चको आयोजनामा र वडा नम्बर ४ को सहयोगमा सञ्चालन भएको हो ।
तालिमको पहिलो दिन सहभागीहरूले नेतृत्वका विविध पक्षबारे सिक्न थालेका छन् । कार्यक्रमले समुदायलाई नेतृत्वका आधारभूत सिद्धान्त र प्रस्तावना लेखनका सीपहरू प्रदान गर्ने लक्ष्य लिएको छ ।
कपिलवस्तु विकास मञ्चका अध्यक्ष हिरालाल यादवले तालिमले समावेशी र दिगो विकासको वातावरण निर्माण गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “यस तालिमले समुदायका व्यक्तिहरूलाई योजनाहरू निर्माण र कार्यान्वयनमा प्रभावकारी बनाउन सक्षम बनाउनेछ ।”