कपिलवस्तुको हर्दौनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम
कपिलवस्तु – इलाका प्रहरी कार्यालय हर्दौनाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्धको अपराध तथा हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–१०, अल्गीमा आयोजित कार्यक्रममा करिब ६०–७० जना स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय हर्दौनामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) मञ्जु कुमारी रानाले समुदायमा भइरहेका महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसाका घटनाबारे जानकारी गराउँदै सुरक्षाका उपायहरूबारे सचेत गराएकी थिइन् ।
उनले कानुनी अधिकार, प्रहरीमा उजुरी दिने प्रक्रिया, घरेलु हिंसा तथा सामाजिक अपराध नियन्त्रणका उपायहरूबारे जानकारी दिँदै समुदायको सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले समेत सुरक्षा चुनौतिका विषयमा आफ्ना प्रश्न राख्दै अन्तरक्रिया गरेका थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी र स्थानीय बासिन्दाबीच समन्वय बढाउने उद्देश्य रहेको र यसले अपराध न्यूनीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।