गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
१२ मंसिर,काठमाडौं :राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ ।
अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ ।
पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई जिम्मेवारी दिएको छ ।
आयोजनाको तयारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइएको छ ।
गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएका तिवारीले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको मातहतमा रहेर गौतमबुद्ध विमानस्थलको शीघ्र सञ्चालनको तयारीका लागि आवश्यक सहजकर्ताको काम गर्नेछन् ।
गौतमबुद्ध विमानस्थलको पछिल्लो प्रगतिबारे जानकारी दिँदै तिवारीले विमानस्थलको व्यावसायिक उडान सञ्चालनका आवश्यक पूर्वाधार तथा प्राविधिक उपकरण जडानको कामलाई तीव्रता दिइने बताए ।
तिवारीसहित प्राधिकरणका अन्य धेरै उच्च तहका कर्मचारीलाई विभिन्न विभागको जिम्मेवारी हेर्नेगरी सरुवा गरिएको छ ।