Connect with us
Kapilvast Forest

दलित महिलामाथि कुटपिट गर्ने कुर्मी पक्राउ

२०८१, ११ चैत्र मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका-३ मायनारीकी सुकुना खटिकलाई कुटपिट गर्ने नन्दलाल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २ गते सामान्य विवाद हुँदा नन्दलाल कुर्मी र उनका परिवारले खटिकलाई कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएकी खटिकले प्रहरीसमक्ष न्यायको माग गरे पनि सुरुदेखि नै घटनाले सार्वजनिक चर्चा पाएको थिएन । चैत ५ गते मात्र न्युजसेन्टर नेपालले घटनाबारे समाचार प्रकाशन गरेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।

समाचार बाहिरिएपछि इलाका प्रहरी कार्यालय गणेशपुरले चैत ७ गते नन्दलाल कुर्मीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको थियो । अनुसन्धान प्रक्रियालाई थप व्यवस्थित बनाउन प्रहरीले अदालतबाट पुनः ७ दिनको म्याद थप गराएको छ ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत छानबिन भइरहेको छ । सुकुना खटिकमाथि भएको कुटपिट जातीय विभेदसँग सम्बन्धित छ वा अन्य व्यक्तिगत विवादका कारण भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यस घटनाले दलित समुदायमाथि हुने हिंसाको विषयलाई पुनः सतहमा ल्याएको छ । स्थानीय अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउन दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले पीडितको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र दोषी ठहरिए आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो पनि पढनुस 

कुर्मी परिवारले सुकुनालाई कुटिरहे, गाउँले रमिता हेरिरहे

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj