राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल , महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी हिजो साँझ ७ः४० बजे प्रधानमन्त्री ओलीलाई भेटन अस्पताल पुगेकी थिइन् ।
उनले प्रधानमन्त्रीको उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीको स्वास्थ्यमा भर्इरहेको सुधारप्रति खुसी व्यक्त गर्दै राष्ट्रपतिले शिघ्र स्वास्थलाभको शुभकामना समेत दिएकी छन् ।
प्रधानमन्त्री ओलीको गएको मंगलबार एपेन्डिसाइटिसको आकस्मिक शल्य क्रिया गरिएको थियो। उनको शल्य क्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुको भनाई छ।
स्वास्थ्यमा सुधार आए पनि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने जनाइएको छ। उनी कहिले डिस्चार्ज हुन्छन् भन्नेबारे केही जानकारी दिइएको छैन।
मिर्गौलाले काम गर्न छाडेपछि अस्पतालमा नियमित डायलसिस गराइरहेका प्रधानमन्त्री ओलीको ठूलो आन्द्रामा अचानक एपेन्डिसाइटिस देखिएको थियो।