प्रहरी प्रधान कार्यालयकै नक्कली लेटर प्याड बनाउने परे फन्दामा
काठमाडौं, मंसिर १३-
प्रहरीले सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमति-पत्रलगायत कागजात किर्ते बनाउने गिरोहलाई पक्राउ गरेको छ।अवैध रूपमा नक्कली कागजातहरू बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गरीरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौंका विभिन्न स्थानमा रहेको फोटो स्टुडियोमा छापा मारेको थियो।
प्रहरीले ती फोटो स्टुडियोबाट प्रहरी प्रधान कार्यालयको लेटर प्याडमा तयार भएको पुलिस रिपोर्ट, प्लस टुको एकाडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हात हतियार तालिम, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयहरूको जिल्लास्तरीय परीक्षाका मार्कसिट तथा शैक्षिक प्रमाण पत्रहरू, नेपाल सेनाले दिने प्रमाणपत्र, विभिन्न महानगरीय प्रहरी वृतहरूको लेटर प्याड तथा टु हुम इट मे कन्सर्न लेखेका पत्र बरामद गरेको छ।
त्यस्तै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू, काठमाडौं महानगरपालिकाको सहीछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयहरूका लेटर प्याडहरूमा लेखिएको पत्रहरू, बैंक स्टेटमेन्ट, मेडिकल रिपोर्ट, स्थायी लेखा नम्बरको प्रमाण पत्र पनि फेला पारेको छ।
नक्कली कागजात बनाउन संलग्न रहेको भन्दै प्रहरीले गोंगबुका फोटो स्टुडियो चलाउने ओखलढुंगाका सविनकुमार तोलांगी, चितवन घर भई हाल सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो चलाउने अमृत सुर्खेती र महाराजगञ्जमा दुवाडी डिजिटल फोटो स्टुडियो चलाउने मधुसुदन दुवाडीलाई पक्राउ गरेको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसूरअन्तर्गत दफा २७६ अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरू दोषी ठहर भए ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनेछ।ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले कारबाही अभियान जारी रहेकोले यस्तो गैरकानूनी कार्य गर्नेलाई मात्र नभई गर्न लगाउनेलाई पनि कारबाही हुने बताए।