शिक्षकको अन्दोलनले कपिलवस्तुका सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
भुपाल थापा कपिलवस्तु –
शिक्षकको प्रदर्शनका कारण कपिलवस्तुका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । जिल्लाका शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा यहाँका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन् ।प्रदर्शनका कारण वार्षिक परीक्षाको नतिजा कार्यक्रम रोकिँदा भर्नासँगै पठनपाठन प्रभावित बनेपछि अभिभावक चिन्तित बनेका छन् । भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सहभागी सरिक हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता बढेको अभिभावकहरुको भनाइ छ ।
“वार्षिक परीक्षाको नतिजा अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन, भर्ना कहिले खुल्ने हो अन्यौलमा छौँ”, अभिभावक सुस्मा चुँदालीले भनिन्, “सामुदायिक विद्यालयमा कहिलेबाट भर्ना सुरु भई कक्षा सञ्चालन हुने हो रु यो विषयमा हामी अभिभावक चिन्तित छौँ ।”कपिलवस्तुका सबैजसो सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गरेर काठमाडौँ शिक्षकको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति कपिलवस्तुले पनि बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन सामुदायिक विद्यालयका शिक्षकलाई आह्वान गरेको छ ।
नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेल र सचिव रविलाल घिमिरेको संयुक्त हस्ताक्षर सहित विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई अनुरोध गरिएको हो । शिक्षक प्रदर्शनका कारण सामुदायिक विद्यालयको वार्षिक परीक्षाको नतिजा औपचारिक रूपमा सार्वजनिक नभएको जिल्लाका बिभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरुले जनाएका छन् ।“औपचारिक रूपमा परीक्षाको नतिजा सार्वजनिक नभए पनि केही अभिभावक तथा विद्यार्थीले शिक्षकसँग सम्पर्क गरेर जानकारी लिनुभएको छ, तर सबै विद्यार्थी, अभिभावक परीक्षाको नतिजाबारे जानकार हुनुहुन्न । प्रदर्शनले परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित बनेको छ, उनीहरुले भने ।
भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा नबढ्ने सरोकारवालाको बुझाइ छ । पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षिक भएका यहाँका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराशा बनाएको छ । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका यहाँका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्यौलमा परेका छन् । अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ ।विद्यालय सञ्चालन नहुदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन् । खुसी मुद्रामा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय जाने बेला बालबालिका यतिबेला घरमा बसेर, खेलेर समय बिताउने गरेका छन् ।
- नेपाल शिक्षक महासंघ कपिलवस्तुले सर्कुलर गरेको पत्र
