कपिलवस्तुको भूभागमा अर्घाखाँचीको अतिक्रमण : सितगंगाको लगानीमा अवैध सडक निर्माण
सनिउल्ला धोबी – कपिलवस्तुको भूभागमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले अवैध रुपमा सडक निर्माण गरिरहेको पुष्टि भएको छ ।
बिना कुनै कानुनी प्रक्रिया, समन्वय र स्वीकृति, अर्घाखाँचीको सितगंगा नगरपालिकाले कपिलवस्तुको वन क्षेत्रमाथि डोजर चलाएको हो ।
वनकासवासा देखि खयरभट्टी गाउँसम्म फैलिएको सडक निर्माण कार्य अर्घाखाँचीको सीमा भन्दा पाँच किलोमिटर उत्तर कपिलवस्तुको भूभागमा पर्छ ।
तर पनि सितगंगा नगरपालिकाले लुम्बिनी प्रदेश सरकारको बजेट प्रयोग गरी कपिलवस्तुको साझेदारी वन, शिवराज साझेदारी वन र रहतावल सामुदायिक वन क्षेत्रमा अनधिकृत रूपमा सडक बनाएको छ ।

शिवराज साझेदारी वनका अध्यक्ष हरि पोख्रेल भन्छन्, “न जानकारी, न सहमति — वन क्षेत्र मिचेर अर्घाखाँचीले सडक खनेको छ ।” उहाका अनुसार, वन क्षेत्रमा यस्ता गतिविधि गर्नु वातावरणीय तथा कानुनी दृष्टिले गम्भीर उल्लङ्घन हो ।
गौतमबुद्ध डिभिजन वन कार्यालय, कपिलवस्तु साझेदारी वन, रहतावल सामुदायिक वन, सब डिभिजन कार्यालयका प्रतिनिधि र पत्रकारहरुको टोलीले स्थलगत अनुगमन गर्दा अवैध निर्माण पुष्टि भएको अनुगमन टोलीका सदस्य विष्णु हमालले जानकारी दिनुभयो ।
अनुगमन टोलीका अनुसार सडक निर्माणका क्रममा वन पैदावार नष्ट हुनुका साथै जैविक विविधता र वातावरणमा समेत क्षति पुगेको छ ।
स्थानीयवासी र सरोकारवाला निकायहरुले तत्काल निर्माण कार्य रोक्न र दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
“हाम्रो वन क्षेत्र, हाम्रो स्रोतसाधन मिचेर विकासको नाममा मनमानी गरिँदैछ,” स्थानीय एक अगुवाले गुनासो गरे।
बिना अनुमति खोलिएको सडक काठ तस्कर र नदीजन्य पदार्थ चोरी गर्न सहज मार्ग बनेको स्थानीयले आरोप लगाएका छ्न ।
स्थानीयले तत्काल निर्माण रोक्न र कारबाही गर्न सरकारसँग माग गरेका छन ।
यो घटना प्रदेश सरकार र स्थानीय तहबीच समन्वयको चरम अभाव तथा कानुनी शासनको बेवास्ताको ज्वलन्त उदाहरण बनेको छ ।
कपिलवस्तुका सिमा जानकार भन्छन यस विषयमा दुबै जिल्लाका उच्च पदास्त ब्याक्तीहरुले छलफलको माध्यमबाट निकास निकाल्नु पर्छ ।