Connect with us
Kapilvast Forest

प्रहरीले कसरी समात्यो ४३ लाख रुपैयाँ ?

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी–
कपिलवस्तु जिल्लाको वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले एक भारतीय नागरिकलाई ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित पक्राउ गरेको छ । उक्त रकम विभिन्न दरको भारतीय र नेपाली रुपैयाँका रूपमा बरामद गरिएको हो ।

आइतबार दिउँसो ३ बजेतिर शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै आएका भारतका बलरापुर जिल्ला, तुल्सीपुर थाना, सोनपुरग्रामका २२ वर्षे शिवा पटवा (आषिशकुमार)बाट उक्त रकम बरामद गरिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले पटवा बस्ने घरमा छापा मारी रकम बरामद गरेको हो ।

प्रहरी प्रमुख उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार, उक्त रकममध्ये १६ हजार ५ सय ९० भारतीय रुपैयाँ र बाँकी रकम नेपाली रुपैयाँ रहेको छ । साथै, बरामद घरबाट पैसा गन्ने मेसिन र मोबाइल फोन समेत पाइएको छ । प्रहरीले उक्त रकम हुन्डी लगायत अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरेको छ ।

कसरी समातियो रकम सहित आशिष ?

वैशाख १ गते, कपिलवस्तु प्रहरीलाई एउटा अत्यन्तै संवेदनशील र गोप्य सूचना प्राप्त भयो — स्रोत नखुलेको ठूलो मात्रामा रकम भित्र्याउने योजना हुँदैछ । सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले तत्कालै उच्च सतर्कता अपनायो ।

रकम कहाँबाट, कसले, र कुन माध्यमबाट ल्याइन्छ भन्ने प्रमाण संकलनका लागि प्रहरीले व्यापक रणनीति तयार गर्‍यो ।

प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा तीन जना सादा पोसाकधारी प्रहरी सुरक्षाकर्मीहरुलाई विशेष निगरानीका लागि खटाइयो । गिरोहले सुरुका दिनहरूमा प्रहरीलाई निकै चलाखीपूर्वक छल्न प्रयास गर्‍यो ।

कतिपटक त गिरोहले गतिविधि नै परिवर्तन गरी प्रहरीले थालिएको निगरानीलाई अन्योलमा पारेको थियो ।

तर प्रहरीले हार मानेन । वैशाखको दोस्रो साता प्रहरी टोलीले निगरानी र सूचना संकलनलाई झनै तीव्र बनायो । त्यसक्रममा पत्ता लाग्यो कि गिरोहले कपिलवस्तुको कृष्णनगर नाका प्रयोग गर्दै स्कुटरमार्फत रकम ओसारपसार गर्दै आएको छ ।

यो खुलासाले प्रहरीलाई थप सशक्त बनायो । गिरोहको चलखेल र गतिविधि विस्तृत रूपमा नजिकबाट अवलोकन गरियो ।

अन्ततः, वैशाख १४ गते, प्रहरीलाई निर्णायक सूचना प्राप्त भयो — गिरोह शिवराज नगरपालिका–५, ग्यालेक्सी टोल नजिकै महेश वरईको घरमा सुरक्षित स्थल बनाएर रकम राख्न लागेको छ ।

सूचना मिल्नासाथ दिउँसो २ बजेतिर सादा पोसाकमा तैनाथ प्रहरी टोलीले तत्काल सूचना दियो । प्रहरी निरीक्षक शाहको नेतृत्वमा विशेष टोली वरईको घरमा छापा मार्न प्रस्थान गर्‍यो ।

दुई तल्ले घरको पहिलो तल्लामा आशिषकुमार उर्फ शिवा पटवा बसिरहेको पाइयो । टोलीले अत्यन्तै चुस्त ढंगले घर घेराबन्दी गर्दै छापा मार्यो र आशिषलाई नियन्त्रणमा लियो ।

पक्राउ गरेपछि गरिएको प्रारम्भिक जाँचमा, पलंगको छेउमा लुकाइएका दुईवटा झोलाभित्र ठूलो परिमाणको नगद फेला पारियो ।

झोलाभित्र नेपाली र भारतीय विभिन्न दरका नोटहरू राखिएको थियो । साथै, पैसा गन्ने मेसिन र एउटा मोबाइल फोन पनि बरामद गरियो ।

गिरफ्तारीसँगै प्रहरीको प्रारम्भिक आशंका पुष्टि हुन पुग्यो — बरामद रकम अवैध कारोबार तथा हुन्डीसँग सम्बन्धित हुन सक्ने सम्भावना प्रबल देखियो ।

हाल पक्राउ परेका आशिषकुमारमाथि थप अनुसन्धान तीव्र रूपमा भइरहेको छ भने, गिरोहका अन्य सदस्यको पहिचान र नियन्त्रणका लागि अनुसन्धान थप व्यापक बनाइएको छ ।