सोमबारको संसद् बैठकमा अश्लील नबोलेको र पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ पूर्वमन्त्री आले
काठमाडौं-
नेकपा एकीकृत समाजवादी का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको बताए। उनले भने, ‘अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ। मैले अश्लील बोलेको छैन।’
यसैगरी उनले आफूले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ।