मलाई नै फोन गरेर राजीनामा देऊ भनेको भए हुन्थ्यो: गृहमन्त्री
काठमाडौं- भिजिट भिसा प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखकबारे सार्वजनिक रूपमा मात्र होइन, नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समेत चर्चा भएको छ ।
जनस्तरबाट तथा कांग्रेसभित्रैबाट राजीनामा गर्न लेखकमाथि दबाब बढिरहेका बेला सोमबार पदाधिकारी बैठक बस्यो । तर, बैठकले यस विषयमा कुनै निर्णय गरेन । बरु बैठक सकिएपछि गृहमन्त्रीबाट लेखकको राजीनामा माग्ने कांग्रेस नेताहरूलाई पार्टी सभापतिले स्पष्टीकरण माग्ने पर्ने धारणा व्यक्त भएको खबर बाहिरियो ।
यो खबर सार्वजनिक गरेका थिए, कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले । बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूसँग सभापतिले स्पष्टीकरण माग्नु पर्ने धारणा राखेको बताए । उनले शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंको नामै लिएर उनीहरूसँग स्पष्टीकरण सोध्नुपर्ने माग पदाधिकारीले सभापतिसमक्ष राखेको बताएका थिए ।
सोमबारको पदाधिकारी बैठकले राजीनामाबारे कुनै निर्णय गरेन । आखिर के भएको थियो बैठकमा ? एक सहभागी नेता भन्छन्, ‘पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले समय लिएरै आफू चोखो रहेको धारणा राखे । राजीनामा मागिएकोमा केही नेताप्रति चित्त दुखाए ।’
कांग्रेसको क्रियाशील सदस्यताबारे समेत छलफल गर्न भनेर डाकिएको भए पनि बैठकको अधिकांश समय रमेश लेखक वरिपरि नै घुम्यो ।
ती नेताका अनुसार बैठकको प्रारम्भमै गृहमन्त्री लेखकले समय लिएर भिजिट भिसा प्रकरण र आफू माथि उठेका प्रश्नबारे सविस्तारमा जानकारी गराए । लेखकले यस प्रकरणमा छिटो प्रतिक्रिया आफूले नदिएको र अरुले के बोल्छन् भनी प्रतीक्षा गरेको बताएका थिए ।
यो पनि पढ्नुहोस
भिजिट भिसा प्रकरणमा गृहमन्त्री : गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ (भिडिओ)
पार्टीभित्र यो प्रकरणलाई लिएर सबैभन्दा पहिले नेता डा. शेखर कोइरालाले राजीनामा मागेको प्रसंग उनले उठाए । राजीनामा दिनु उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि गृहमन्त्री लेखकले शेखरलाई फोन गरेका थिए ।
बैठकमा उनले शेखर कोइरालासँग भएको आफ्नो टेलिफोन संवादको बेलिबिस्तार नै लगाए । ‘मैले शेखर दाइलाई फोन गरें । दाइ तपाईंले मलाई भन्नुपर्ने । मलाई फोन गरेर राजीनामा देऊ भनेको भए पनि हुने थियो । बाहिर गएर बोल्नुभयो । अरु बेला काम पर्दा फोन गर्ने तपाईंले यो विषयमा मलाई नै भनेको भए हुने थियो नि,’ लेखकले भनेका थिए ।
गृहमन्त्री लेखकले गुनासो गरेपछि ‘तपाईंलाई सजिलो बनाउन’ राजीनामा दिँदा उपयुक्त हुने धारणा राखेको कोइरालाले फोन संवादमा बताएका थिए । शेखरले आफूसँग भनेको कुरालाई लेखक बैठकमा सुनाए, ‘राजीनामा दिनुस् । अख्तियारले २/४ दिनमा छानबिन गरिहाल्छ । तपाईं निर्दोष भएको क्लिन चिट पाइहाल्नुहुन्छ ।’
फाइल तस्वीर
अख्तियारले २/४ दिनमै छानविन सकिहाल्छ भनेर लेखकले उल्टै शेखरलाई प्रश्न गरेको बैठकमा बताए । बैठकमा हाँस्दै लेखकले शेखरलाई भनेको कुरा नेताहरूसँग बाँडे, ‘शेखर दाइ राजकाज यस्तो हुन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २/३ दिनमा छानबिन टुंग्याउँछ ?’
गृहमन्त्री लेखकले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरेको हुँदा चाँडो टुंगिने भन्ने प्रश्नै नरहेको बताए । लेखकले बैठकमा भने, ‘म माथि छानबिन गरेको भए छानबिन चाँडो टुंगियोस् भन्नु । छानबिन नै म माथि गर्या छैन । जो जसलाई छानबिन गरेको छ उसको बयान नै सुरु भएको छैन ।’
शेखरले काठमाडौं आएर कुरा गर्ने भनेको लेखकले सुनाए ।
बैठकमा सहभागी एक नेताका अनुसार लेखकले पार्टीभित्रका नेताहरूसँग गुनासो राखेपछि उपसभापति पूर्णबहादुर खड्काले बोलेका थिए । पार्टीभित्रकै नेताहरूले गृहमन्त्रीको राजीनामा माग्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।
पार्टी बैठकमा आफ्ना कुरा नराख्ने तर बाहिर बाहिर बोल्ने प्रवृत्ति शेखरमा रहेको भन्दै खड्काले आपत्ति जनाएका थिए । शेखरको बोलीप्रति असन्तुष्टि जनाउँदै खड्काले भने, ‘पार्टीको बैठकहरूमा कहिले पनि नआउने । खाली बाहिर मात्र बोल्ने । सभापतिले उहाँ (शेखर)लाई बोलाएर कुरा गर्नुपर्छ ।
शेखरप्रति देउवाको टिप्पणी
पूर्णबहादुर खड्काको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले बैठकमा आउनुपर्छ भनेका थिए । आफूसँग भेट हुँदा मिठो कुरा गर्ने तर बाहिर बाहिर बोल्ने गरेको देउवाले पनि सुनाए । शेखरबारे देउवाले भने, ‘मसँग कुरा गर्दा जहिले पनि मिठो कुरा गरेर जाने । अनि बाहिर गएर बोलिहाल्ने । मैले बोलाएर कुरा गरें भने मैले त्यस्तो भनेकै होइन भन्दिने क्या । खाली बाहिर गएर बोल्ने । यहाँ आएर होइन भन्दिने ।’
यो पनि पढ्नुहोस
भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन
यो पनि पढ्नुहोस
भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन
देउवाले शेखरको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेपछि नेता विमलेन्द्र निधि बैठकमा बोलेका थिए । गृहमन्त्रीको राजीनामा माग्ने काम गम्भीर भएको भन्दै नेता निधिले भने, ‘यसरी कसरी पार्टीको पोजिसन बन्छ पार्टीमा छलफल गर्नुभन्दा पहिले विषय प्रस्तुत राखिदिएपछि ?’ उपसभापति खड्का र निधिको बोलीमा प्रवक्ता डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठले समर्थन जनाए ।
महामन्त्री थापाको समन्वय प्रयास
महामन्त्री गगन थापाले नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको व्यक्तिगत बोलीका रूपमा लिँदा उपयुक्त हुने धारणा राखेका थिए । गृहमन्त्रीको बारेमा आफ्नो र सिटौलाको बोली व्यक्तिगत धारणा हुने शेखरले बोलिसकेको उल्लेख गर्दै विवादको विषय बनाउन नहुने थापाको भनाइ थियो ।
महामन्त्री थापाले भने, ‘अब यसलाई बढाएर किन विवाद तन्काउनु पर्योे । शेखर दाइले व्यक्तिगत विचार भनिसक्नु भएको छ । पार्टीले जे निर्णय गर्छ मेरो निर्णय त्यही हो भनिसक्नुभयो । अब यसलाई किन तन्काइराख्नु ?’ पार्टी बैठकले गर्ने निर्णय आधिकारिक हुने शेखरले आफूसँग बताइसकेको देउवाले नेताहरूलाई जानकारी गराएका थिए ।
‘गढबढ गरिरहेको सूचना पाएर तानेको हुँ’
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईले अनियमितता गरेको सूचना पाएर मन्त्रालय तानेको स्पष्टीकरण गृहमन्त्री लेखकले बैठक दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्ने सुइँको पाएर भट्टराईलाई मन्त्रालय तानिएको भन्ने भनाइमा सत्यता नभएको उनको दावी थियो ।
तीर्थराज भट्टराईको जानु अघि त्यहाँ रहेका व्यक्ति स्वच्छाले सरुवा मागेको हुँदा उनलाई त्यहाँ पठाइएको लेखकले जानकारी गराएका थिए । ‘उनी हुनभन्दा अघिकाले आफैँले सरुवा मागेका हुन् । म यहाँ बस्दिनँ भनेर । त्यो भएपछि तीर्थ भट्टराई ल्याएँ,’ लेखकले बैठकमा भने, ‘मैले केही समयदेखि तीर्थ भट्टराईको बारेमा अलिकति यसले गडबड गर्दैछन् भन्ने सूचना पाएँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्न आउँदैछ भनेर हटाएको होइन ।’
सभार- अनलाइनखबर