एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
काठमाडौं-
भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।
UPDATE: Air India confirms that flight AI171, operating from Ahmedabad to London Gatwick on 12 June 2025, was involved in an accident.
The 12-year-old Boeing 787-8 aircraft departed from Ahmedabad at 1338 hrs, carrying 230 passengers and 12 crew.
The aircraft crashed shortly…
— Air India (@airindia) June 12, 2025
घटनास्थलको अवलोकन गरेका गृहमन्त्री अमित शाहले पत्रकारहरुसँग भनेका छन्, ‘सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एक यात्री बाहेक अरु सबैको मृत्यु भएको छ र लगभग सबैको शव संकलनको काम सकिएको छ ।’ उनले शवहरुको डीएनए टेस्ट गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् ।
यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।
विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।