कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
धनगढी-
कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सईलाई पक्राउ गरिएको छ ।डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक९सई० हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपीराजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पुष्टि गरे ।नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।
मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको छ ।
प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ । सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शवको परीक्षण सकेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो ।
अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो । तर २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो ।मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।