Connect with us
Kapilvast Forest

नयाँ पुस्ताले सिक्दैन जनै बनाउन

२०८२, २२ असार आईतवारमा प्रकाशित

गण्डकी –

जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी बाँकी रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का कृष्णप्रसाद अधिकारीसहित चार ज्येष्ठ नागरिकलाई यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ।जनै बनाउने सिप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त छन्। नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने परम्परा छ।

उनीहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं. ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो। चौतारामा जनै बनाउन व्यस्त देखिने उनीहरूबाट जनै बनाउन सिक्न फाट्टफुट्ट अरु पनि आउने गरेका छन्। सिक्न र जान्न चाहने जोकोहीलाई सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताए। राम्रोसँग बुझ्न र सिक्न समय लाग्ने उनको भनाइ छ। आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पुर्‍याउने उनीहरूको उद्देश्य छ।

अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन। जनै बनाउनका लागि शुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ। सँगाल्नका लागि ‘कतुवा’को प्रयोग हुन्छ काँचो धागो बाटेपछि जनैको डोरा तयार पारिन्छ। यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा (गाँठो) पार्ने गरिन्छ। शिखालाई ‘ब्रह्म ग्रन्थी’ भनिन्छ। जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने अधिकारीले बताए।आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उहाँको भनाइ छ। ‘बुबाबाट सिकेर १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु।’ अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताए।

नियमपूर्वक जनै बनाउन समय लाग्ने भएकाले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुुभव उनले सुनाए। नियम पुर्‍याएर बाटिएको जनैको बजारमा पाइनेको तुलनामा महँगो पर्ने उनको भनाइ छ। पछिल्ला पुस्तामा जनै बनाउने सिपको पुस्तान्तरण हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे।संस्कार र संस्कृतिलाई भावी पुुस्तासम्म पुस्तान्तरण गर्दै जानसकेमा हाम्रा साँस्कृतिक रीतिरिवाज र परम्पराको जगेर्ना हुने गुुरुप्रसाद पौडेलको भनाइ छ। नयाँ पुस्तालाई सीप सिकाउँदै सकेसम्म नियमपूर्वक बाटिएका जनै लगाउन प्रेरित गर्नुपर्ने उनको धारणा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj