पेट्रोलियम ढुवानी गर्ने ट्यांकर भाडा बढाउँदै निगम, उपभोक्तामाथि भार थपिने
काठमाडौं –
नेपाल आयल निगमले उपभोक्तामाथि भार थपिने गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा बढाउने तयारी गरेको छ ।आयल निगमले उपभोक्ता हित विपरीत ट्यांकरको भाडा बढाउने तयारी अगाडि बढाएको हो । विगतमा विभिन्न सुझाव समितिले ट्यांकरको भाडा महँगो भएकाले घटाउन दिएका सुझाव विपरीत निगमले भाडा वृद्धि गर्न लागेको हो ।निगमले ट्यांकरको ढुवानी भाडा बढायो भने यसको सिधा प्रभाव उपभोक्तामाथि पर्छ । किनकि, यसरी भाडा बढाइए उपभोक्ताले खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्यमा जोड्ने गरिन्छ ।
निगम प्रवक्ता मनोज ठाकुरले भाडा बढाउने विषयमा छलफल भएको तर निर्णय भइनसकेको बताए ।उनका अनुसार अहिले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरले लिँदै आएको भाडा २०७८ सालमा लागु भएको हो । २०७८ देखि ट्यांकरको भाडा बढेको छैन ।‘हामीले अहिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई दिँदै आएको भाडा २०७८ सालमा लागु भएको हो,’ उनले भने, ‘ढुवानीकर्ताहरूले पनि बारम्बार भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आउनुभएको थियो । भाडा वृद्धि गर्ने विषय छलफलकै क्रममा छ ।’
उनका अनुसार भाडा वृद्धिको बारम्बार माग आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयस्तरमै छलफल गरेका थिए । छलफलपछि यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति बनेको थियो ।‘यस विषयमा अध्ययन समितिले मन्त्रालयमा प्रतिवेदन पेस गरेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘कति बढाउने भन्ने विषय छलफलकै क्रममा रहेको छ, निर्णय आइसकेको छैन ।’
अहिले श्रमिकको पनि पारिश्रमिक बढिसकेको छ । राज्यले नै दुई पटक सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ । तर, पेट्रोलियम ढुवानी गर्नेको भाडा समायोजन किन नहुने भनेर उनीहरूले बारम्बार प्रश्न गर्दै भाडा बढाउन माग गरेको निगमको भनाइ छ ।आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भाडा वृद्धिसम्बन्धी प्रतिवेदन मन्त्रालयमा पेस भएको र छलफलकै क्रममा रहेको बताए ।