दुर्गा प्रसाईंको रिहा विरुद्ध सर्बोच्च जाँदै सरकार
काठमाडौ –
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने तयारीमा लागेको छ।
महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशको अध्ययन गरी रायसहितको प्रतिवेदन तयार गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको छ। त्यसैका आधारमा सर्वोच्च अदालतमा आदेश बदरको माग गर्दै निवेदन पेश गरिने बताइएको छ।
कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार दुर्गा प्रसाईंसम्बन्धी दुवै फरक मुद्दामा भएको धरौटी आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत रहेको निष्कर्षसहित सर्वोच्च अदालत जाने निर्णय गरिएको हो।
“दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो,” प्रवक्ता पुडासैनीले भने, “यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने ठहरका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हौं।”
यसका लागि सम्बन्धित आदेश र मुद्दासम्बन्धी अन्य फाइल अध्ययन गरी आवश्यक कानुनी राय तयार पारिनेछ। उच्च अदालत पाटनले आइतबार प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रसाईंविरुद्धको उक्त आदेशले सामाजिक र कानुनी वृत्तमा व्यापक चर्चा र आलोचना निम्त्याएको छ। अब सर्वोच्च अदालतमा हुने बहस र निर्णयले सो आदेशको वैधता पुनः परीक्षणमा पर्नेछ।