काठमाडौँ –
देशका ६ वटा प्रदेशमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ। गत असार ६ देखि साउन २० सम्म लम्पी स्किनको संक्रमणबाट २७ हजार ४२५ वटा पशु प्रभावित हुँदा ८४६ वटा पशु चौपाया मरिसकेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म २९ जिल्ला लम्पी स्किन रोगबाट प्रभावित भएको छ। सबैभन्दा बढी प्रभावित कोशी प्रदेशका ११ जिल्लामा यो रोग फैलिएको छ भने मधेसका ८, बागमतीका ५, गण्डकीको १, लुम्बिनीका ३ र कर्णालीको एउटा जिल्लाका पशुमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयकी प्रवक्ता डा. जानुका पण्डितले जानकारी दिइन्।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छैन। मधेसका सबै जिल्लामा फैलिएको लम्पी स्किन कोशीको संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा भने देखिएको छैन।गण्डकीको गोरखा र कर्णालीको रुकुम पश्चिममा मात्र देखिएको छ। बागमतीको मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन र धादिङ, लुम्बिनीको नवलपरासी पश्चिम, कपिलवस्तु र रोल्पामा लम्पी स्किन फैलिएको प्रवक्ता डा. पण्डितले बताइन्।
‘अहिलेसम्म ५ लाख ६१ हजार ७५१ वटा पशु वस्तुलाई खोप लगाइ सकिएको छ, र ६ वटै प्रदेशका लागि गतवर्षको खोपका लागि गइसकेको छ, यो आवका लागि जाने प्रकृयामा छ’, उनले भनिन्। लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन हुने भएकाले बाहिरबाट आयात गर्नुपर्दैन। किसानले जिल्लास्थित पशु सेवा हेर्ने कार्यालय र स्थानीय तहका पशु सेवा शाखाबाट लम्पी स्किन रोगविरुद्धको खोप नि:शुल्क प्राप्त गर्न सकिन्छ। लम्पी लागेर निको भइसकेका पशुलाई खोप लगाउनु पर्दैन। लम्पी स्किन रोग विरुद्ध खोप लगाइसकेको तीन हप्तापछि कम्तीमा एक वर्षसम्म प्रतिरोधात्मक क्षमता रहन्छ।
के हो लम्पी स्किन ?
लम्पी स्किन रोग गाई भैँसीमा विषाणुबाट लाग्ने अति संक्रामक रोग हो। पक्सभाइरिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण अत्यधिक संख्यामा गाई भैँसीहरूमा संक्रमण गराउने सीमाविहीन पशु रोग हो।यो एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस) बाट गाई भैँसीहरू लाग्ने रोग हो। यो रोग भैँसीमा भन्दा गाईमा बढी देखिन्छ। पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रसीया, काजाकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो।
सामान्यतया लामखुट्टे, झिँगा, किर्ना, भुसुनो आदिको टोकाइबाट सर्ने लम्पी सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत सर्छ। छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने भएकाले यस रोगको शीघ्र नियन्त्रण गर्न आवश्यक रहेको पशु सेवा विभागले जनाएको छ। लम्पी स्किन रोग संक्रमित मध्ये सामान्यतया २ देखि ३ प्रतिशत पशु मर्न सक्छन्।
बिरामी पशुले स्याहार सुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्ने पशु चिकित्सक बताउँछन्। यो रोगका कारण बाच्छा बाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाई भैँसी मर्न सक्ने पशु सेवा विभागले जनाएको छ। हालसम्म यो रोग पशुबाट मान्छेमा सरेको प्रमाण भने भेटिएको छैन। भेडाबाख्रामा पनि यो रोग लागेको देखिएको छैन। लम्पी स्किन भएको पशुको दूध खाँदा मानिसमा रोग सर्दैन तर रोग लागेका वेला पशुमा दूध उत्पादन निकै (२५–८० प्रतिसतसम्म) घट्न सक्ने देखिएको छ भने रोग लागेमा गर्भ तुहिने तथा बाँझोपन देखिन पनि सक्छ।
लम्पी स्किनका लक्षणहरू
लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी) आउने गर्छ। यस्तैगरी रोगी पशुले दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा साह्रो गोलो गिर्खा/गाँठोहरू देखिने, गिर्खाहरू केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खाहरू फुटेर गहिरो घाउ हुने, कीरा/औँसा पर्ने हुन्छ।पशु चिकित्सकका अनुसार संक्रमित पशुको नाक मुखभित्र, कल्चौँडी, थुनमा घाउ हुने, आँसु, र्याल, सिँगान आउने, चिप्रारकचेरा लाग्ने, खुट्टारजोर्नी सुन्निने हुन्छ।
रोकथाम कसरी गर्ने ?
लम्पी स्किन रोग भाइरसबाट लाग्ने भएकाले यसको खासै उपचार छैन। रोगी पशुले देखाउने लक्षण अनुसार उपचार गर्नुपर्छ। देशका विभिन्न स्थानमा गाई भैँसीमा लम्पी स्किन रोग देखा पर्न थालेसँगै रोगको रोकथाम तथा नियन्त्रण गर्न आह्वान गरिएको छ। विभागले स्वस्थ गाई र भैँसीलाई अनिवार्य खोप लगाउन, गोठ तथा फार्म परिसरमा नियमित सरसफाइ गरी लामखुट्टे, झिँगा, किर्ना, भुसुनाजस्ता कीराको संख्या नियन्त्रण गर्न, गाडभित्र वा बाहिर ब्लिचिङ्ग पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइड लगायतका रसायनहरू प्रयोग गरि निःसंक्रमण गर्न अनुरोध गरेको छ।
विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्याएर अलग्गै राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न, रोग देखा परेको क्षेत्रबाट गाई भैँसीको ओसारपसार नगर्न सुझाव दिए।नयाँ पशु गोठमा भित्र्याउँदा बथानमा नमिसाइ कम्तीमा २८ दिन अलग्गै राखी रोगको लक्षण नदेखाएमा मात्र बथानमा मिसाउन विभागले किसानहरूलाई अनुरोध गरेको छ।