मानव तस्करीमा प्रत्यक्ष संलग्न कोशीका तत्कालीन मन्त्री तथा एमाले नेतालाई सत्ताको बलमा दिइएको थियो उन्मुक्ति
जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका कोशीका तत्कालीन कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिइएको थियो । जबकि प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
अधिकारीविरुद्ध मुद्दा नै नचलाउने निर्णय गरेर जोगाइएकोमा उनीसँगै जापान जाने प्रलोभनमा साढे ३१ लाख गुमाएका तीन युवाले भने अहिलेसम्म मुद्दा झेलिरहेका छन् । सत्तारूढ एमालेका प्रदेश सांसद अधिकारीलाई प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिँदा उनीसँगै जापान पठाइएका पीडितसहित ११ विरुद्ध भने १० मंसिरमा मुद्दा चलाइएको थियो ।
प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अनुसन्धानमा सघाएजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता कार्यालयकै निर्देशनमा सांसद अधिकारीलाई जोगाइएको थियो ।
प्रहरी अनुसन्धानमा भने उनले मानवतस्करीमा सघाएको पर्याप्त आधार देखिएका थिए । प्रहरी अनुसन्धानमा मन्त्री अधिकारी र बिचौलिया महेश पाण्डेबिच पटक–पटक टेलिफोन संवाद भएको देखिएको थियो । घटना संगठित प्रकृतिको भए पनि प्रहरीले त्यसतर्फ भने अनुसन्धान गरेको थिएन ।
जापान जाने प्रलोभनमा खोटाङ कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राईले १० लाख, रसुवा कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटाले ११ लाख ५५ हजार र खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पाले १० लाख गरी कुल ३१ लाख ५५ हजार रुपैयाँ गुमाएका थिए । घटनामा संलग्न महेश पाण्डे, दिवकारबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, जुगल रिजालसहितको टोलीले जनक, कञ्चन र दावालाई मन्त्री अधिकारीसँगै जापान छिराउने योजना बनाएको थियो । योजनाअनुसार तीनै युवालाई मन्त्री अधिकारीसँग गत ११ कात्तिकमा जापान पठाइएको थियो । तर, जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले अधिकारीसहित सबैलाई फिर्ता गरिदिएपछि योजना असफल भएको हो । फिर्ता भएलगत्तै तीनै युवालाई प्रहरीले गत १४ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरूविरुद्धको लिखत किर्ते कसुर मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।
मोरङका गोपाल भनिने योगराज गौतमसँग मन्त्री अधिकारीको ११ पटक फोन भएको खुलेको थियो । योगराजले उनलाई १२ पटक फोन गरेको देखिएको छ । त्यस्तै, घटनाका मुख्य बिचौलिया पाण्डेलाई योगराजले १८ पटक तथा पाण्डेले योगराजलाई २१ पटक फोन गरेको खुलेको छ । पाण्डेसहितको टोलीले राई, देवकोटा र शेर्पालाई जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर, २०२४’ कार्यक्रममा सहभागी गराउने भनेका थिए । त्यसपछि उतै लुक्न भनेका थिए । सोही प्रयोजनमा उनीहरूले रकम बुझाएका थिए । उनीहरूलाई लैजान सहज होस् भनेर टोलीमा मन्त्रीलाई समेत राखिएको थियो । मन्त्रीलाई सेमत बिदाइ गर्न ११ कात्तिकमा बिचौलिया पाण्डेसहित जुगल रिजाल, विष्णु भट्टराई र दिवाकर भट्टराई विमानस्थल नै पुगेको समेत अनुसन्धानमा खुलेको थियो ।