Connect with us
Kapilvast Forest

एमाले विधान महाधिवेशन : विद्याको सदस्यताकोे निर्णय नसच्याए फरक मत राख्ने तयारी

२०८२, १७ भाद्र मंगलवारमा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयपछि एमालेभित्र उत्पन्न ध्रुवीकरणको असर आसन्न विधान महाधिवेशनमा पनि देखिने भएको छ । निर्णय पुनर्विचार नभए विधान महाधिवेशनमा फरक मत राख्ने विद्या पक्षधर नेताहरूको तयारी छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०–२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ ।

पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी पक्षका नेताहरूले फरक मत राख्न लागेका हुन् । मुख्यत: सदस्यताबाट कसैलाई पनि वञ्चित गर्न नपाइने विषय उठाउने विद्या पक्षधर नेताहरूको तयारी छ । विद्याको सदस्यता नवीकरण नगर्ने निर्णयपछि एमालेका नेता–कार्यकर्ता दुई ध्रुवमा विभाजित छन् । पार्टी अध्यक्ष ओली र विद्याबिच वाक युद्ध छ । संस्थापनको निषेधका बिच विद्याले सम्पर्क कार्यालय खोलेर सक्रियता बढाएकी छिन् ।

विद्याको सदस्यता नवीकरण नगर्ने वेलामै केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी समिति सदस्य कर्ण थापाले असहमति राखेका थिए । तर, एमालेले अन्तर पार्टी निर्देशन (अपानि)मा उक्त विषय उल्लेख नगरेपछि पाण्डे र ज्ञवालीले पार्टीमा छलफलको विषय बनाइयोस् भनेर हस्ताक्षरसहित निवेदन नै दिएका छन् । यसैलाई आधार बनाएर उनीहरूले विधान महाधिवेशनमा फरक मत राख्ने तयारी गरेका हुन् ।

गत केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मौखिक निर्णय सुनाउँदा तत्कालै पाण्डे, ज्ञवाली र थापाले असहमति राखेका थिए । लगत्तै, लेखेर पनि दिएका थिए । ‘हामीले तत्कालै बोलेर असहमति जनायौँँ । माइन्युट लेखन तथा बहस नोट लेखन टोलीलाई पनि यो हाम्रो फरक मत हो भनेर दियौँ । तर, उक्त विषय अपानिमा सर्कुलर भएन,’ पाण्डेले भने, ‘त्यसपछि युवराज ज्ञवाली र मैले संयुक्त रूपमा सही गरेर पार्टीको छलफलको विषय बनाइयोस् भनेर प्रस्तुत गरेका छौँ । स्वाभाविक रूपमा आउने विधान महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ ।’

भिन्न मतलाई सम्बोधन गरे विमति नरहने र भिन्न मतलाई छाडेर अगाडि बढ्न खोजे लिखित दस्ताबेज प्रस्तुत गर्ने तयारी विद्या पक्षको छ । ‘नेतृत्वले भिन्न मत पनि स्वीकार गर्छु भनेपछि फरक मतमा जानुपरेन । तर, विमति सुनुवाइ नगरी पुरानै निर्णय पास गर्न खोजियो भने विधान महाधिवेशनमा विमति राख्ने काम हुन्छ,’ पाण्डेले भने ।

विद्यानिकट एक नेताका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मतसहितको दस्ताबेजको मस्यौदा तयार पारेका छन् । विधि, प्रक्रिया र परम्परा मिचेर गरिएको निर्णय सच्याउन लाग्ने उक्त पक्षका नेताहरूको दाबी छ । जनताको बहुदलीय जनवाद (जबज)विपरीत पार्टीले निर्णय गर्न नहुने भन्दै उक्त समूहले विद्याको सदस्यता रोक्न नमिल्ने बताएको छ । भण्डारीको सदस्यता नवीकरण रोक्नु संविधानविपरीत हुने दाबीसमेत सो समूहको छ ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्चले राजधानीमा सोमबार आयोजना गरेको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यता नवीकरण रोक्ने पार्टी निर्णय सच्चिने विश्वास व्यक्त गरे । ‘नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेको छैन । जस्तो राष्ट्रपतिलाई पनि कुनै पार्टीको सदस्य नहुनु भनेको छैन,’ उनले भने ।

पाण्डेले तीन अवस्थामा बाहेक कसैको सदस्यता नजाने दाबी गरे । उनले भने, ‘निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वत: जान्छ । निर्वाचित भनेको संसद्को सदस्य, कुनै पालिकाको मेयर वा वडासदस्य नै जितेको कसैलाई राष्ट्रपति वा उपराष्ट्रपति बनायौँ भने त्यो पद स्वत: जान्छ । दोस्रो, मनोनीत गरेको पद, संसद्को सदस्य हुन योग्यता रहेको व्यक्ति मात्रै राष्ट्रपतिको उम्मेदवार हुन योग्य हुन्छ भनिएको छ । अहिले तीनजना राष्ट्रिय सभामा मनोनीत हुने व्यवस्था छ । कुनै मनोनीत राष्ट्रिय सभा सदस्य रहेछ भने त्यो पद पनि जान्छ । तेस्रो, कोही व्यक्ति मानौँ, टियूको भिसी नियुक्ति भएको छ वा अरू कुनै ठाउँको नियुक्ति पाएको छ भने पनि राष्ट्रपति निर्वाचित भएपछि उसको पद स्वत: जान्छ । यी तीनवटा कुराबाहेक कुनै पार्टीमा लाग या नलाग भनेर संविधानले भनेको छैन ।’

संविधानले नरोकेको विषयमा पार्टीले निर्णय गरेर वा विधान बनाएर रोक्न नमिल्ने पाण्डेको तर्क छ । ‘पार्टीमा लाग्न संविधानले रोक्दैन । संविधानले नरोकेको व्यवस्थामा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ ? या त यस्ता विषय संविधान, कानुनले रोकेको हुनुपथ्र्यो, त्यस्तो छैन,’ पाण्डेले स्पष्ट पारे । व्यक्तिको लोकतान्त्रिक अधिकार उल्लंघन गर्ने काम कुनै पनि लोकतान्त्रिक पार्टीले गर्न नमिल्नेमा उनले जोड दिए ।

सदस्यताबाट कसैलाई पनि वञ्चित गर्न नपाइने विषय विधान महाधिवेशनमा उठ्ने उनले स्पष्ट पारे । ‘सदस्य भइहाल्नेबित्तिकै कोही मान्छे अध्यक्ष भइहाल्छ भन्ने होइन । पार्टीको अध्यक्ष हुने प्रक्रिया अर्कै छ । कुनै पनि संगठनको पदमा पुग्ने प्रक्रिया अर्र्कै छ । त्यसका सदस्यले रोज्नुपर्‍यो, चुन्नुपर्‍यो । नचुनेको अवस्थामा कोही मान्छे पुग्छ र ? पुग्दैन । तर, सदस्यबाट कसैलाई पनि वञ्चित गर्न पाइँदैन । अहिलेको प्रश्न त्यो हो । विधान महाधिवेशनको एउटा विषय त्यो बन्छ, हामी त्यो कुरा उठाउँछौँ,’ पाण्डेले स्पष्ट पारे ।

समय लागे पनि अप्ठेरोबाट गुज्रिए पनि विधि, स्थापित मान्यता र परम्पराभित्र बसेर बहसलाई निष्कर्षमा पुर्‍याउने विश्वास उनको छ । ‘यो लडाइँ केही तितो बन्न सक्छ, केही समय लिन सक्छ । केही अप्ठेरोबाट गुज्रिन सक्छ, तर निष्कर्षमा पुग्छ,’ पाण्डेले भने, ‘हामी पार्टीका विधि, स्थापित मान्यता र परम्पराभित्र बसेर यो बहस निष्कर्षमा पुर्‍याउन चाहन्छौँ । एमालेमा सदस्यभन्दा शक्तिशाली कोही छैन ।’

आन्तरिक लोकतन्त्रको बहस सार्थक बनाउनुपर्ने उनको भनाइ छ । बहस सार्थक नबनोस् भनेरै केहीले नकारात्मक टिप्पणी गरेको उनको दाबी छ । ‘एमालेभित्र भइरहेको बहस सार्थक नबनाउन नकारात्मक टिप्पणी भैरहेका छन् । बहसले पार्टी विभाजित हुँदैन । सार्थक बहस अगाडि बढेन भने मात्रै नतिजा नकारात्मक हुन्छ,’ उनले भने ।

‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश पाइने 
विधान महाधिवेशनको तयारी तीव्र पारेको एमालेले प्रतिनिधिलाई ढोकामा परिचयपत्रमा रहेको ‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न दिने भएको छ । गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि भनेको छ । १०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।

प्रतिनिधिहरूलाई एसएमएसमार्फत विधान महाधिवेशनको निमन्त्रणा पठाइएको छ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेकोे प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu