Connect with us
Kapilvast Forest

राहतको पर्खाइमा डुबान पीडित

२०८२, २२ आश्विन बुधबारमा प्रकाशित

kapilvastu

असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाले महोत्तरीको जलेश्वर नगरपालिका–१ का सन्तोष पासवानको घर पनि डुबानमा पर्‍यो । घरभित्रको अन्नपात, लत्ताकपडा र अन्य सामग्री बगे । सन्तोष परिवारका सदस्य र केही सामानसहित भाग्ने क्रममा खुट्टामा गम्भीर चोट लाग्यो, जसका कारण अहिले हिँडडुल गर्न समेत उनलाई समस्या छ ।

‘जसै बाढी पस्यो, हामी भाग्यौं । केही पनि बचाउन सकिएन । हिँडडुल गर्न सक्दिनँ । आजसम्म कसैले राहत लिएर आएका पनि छैनन्,’ थातथलोबाट विस्थापित भएका सन्तोषले सोमबार दु:ख बाँडे ।

महोत्तरीकै एकडारा गाउँपालिका–६ बहेडाकी स्मृति मण्डलको परिवार पनि बाढीले प्रभावित भएको छ । घर डुबानमा परेपछि स्थानीयबासीले उद्धार गरी उनीसहित परिवारलाई छिमेकीको घरमा राखिदिएको छ । दशैंका लागि घर आएकी स्मृतिसहित चार छोरी र नातिनातिनासहित १३ जना परिवार अहिले छिमेकीको आश्रयमा छन् । उनीहरू छिमेकीले दिएको अन्नबाट जेनतेन गुजारा गरिरहेका छन् । ‘छिमेकिले दिएको अन्नबाट बालबालिकासहित खाइरहेका छौं । आफ्नो घर र अर्काको घरमा बस्दा अप्ठ्यारो पर्छ,’ उनले भनिन् ।

एकडारा–६ की सरिता देवी मण्डलको परिवारको अवस्था पनि त्यस्तै छ । घरमा बाढी पस्नासाथ उनीहरू ज्यान जोगाएर बाहिर भागे तर केही पनि बचाउन सकेनन् । अहिले उनी पनि छिमेकीकै घरमा शरण लिएर बसिरहेकी छन् ।

‘पानी यति छिटो आयो कि केही पनि निकाल्न पाइएन । अहिले अर्काको घरमा बसेका छौं । घरमा अझै पनि पानी छ, निकै समस्या भोगिरहेका छौं,’ उनले दु:खेसो पोखिन् ।

जलेश्वर नगरपालिका–१ का सन्तोष पासवान
उनीहरुजस्तै जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाका सयौं परिवार डुबानको पीडामा छन् । रातु नदीको बाढी पस्दा जलेश्वर जलमग्न बनेको थियो । अझै पनि केही स्थानमा डुबान छँदैछ ।

एकडारा गाउँपालिका–६ मा मात्रै करिब १२ परिवार बाढीको कारण विस्थापित भएका छन् । उनीहरू छिमेकीका घरमा आश्रय लिएर राहतको प्रतीक्षामा छन् । अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग वा राहत वितरणको पहल भएको छैन ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश प्रसाद साह सोनारले जलेश्वरका डुबान पीडितको विवरण संकलनको काम भइरहेको बताए । त्यसपछि मात्र राहत बाँड्ने उनको भनाइ छ । ‘हजारौं घरमा पानी पसेर डुबानमा छ । एउटा–दुईटा घर पनि बाँकी छैन । एकजनालाई दिने र अरुलाई दिएन भने समस्या जटिल हुन्छ,’ उनले भने, ‘विभिन्न दातृनिकायले विवरण संकलन गरिरहेको छ । हामीले पनि विवरण संकलन गरेर राहतको विषयमा काम गर्छौं ।’

एकडाडा गाउँपालिकाका उपप्रमुख महजवी खातुनले पनि तत्काल खाद्यान्न राहत दिनेबारे मंगलबार निर्णय भएको र अब किनेर वितरण गरिने बताइन् । ‘हिजै विस्थापित भएकाहरुलाई खाद्यान्न राहत दिने निर्णय भएको छ । पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहिर हुँदा राहत वितरणमा ढिलाइ भयो । अब चाँडै राहत वितरण हुन्छ’ उनले भनिन् ।

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवार सदस्य विस्थापित

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवारका सदस्यहरु विस्थापित भएको तथ्यांक छ । सबभन्दा बढी महोत्तरी गाउँपालिकाको वडा नम्बर ६ गोनरपुरकाका ७० परिवार विस्थापित भएका छन् । महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डेले डुबानमा परेर विस्थापित भएका परिवारहरु पानी सुकेपछि घर फर्किन थालेको बताए ।

बलवा नगरपालिका ६ तिलगढका २६ परिवार, औरही गाउँपालिका २ का २० परिवार, रामगोपालपुर नगरपालिकाको विभिन्न वडाको ७८ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

उनीहरु कोही छिमेक, कोही विद्यालय र सार्वजनिक दलानमा आश्रय लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

असोज १९ गते महोत्तरीमा रातु नदीमा आएको बाढीले बाँध भत्कार बस्ती पस्दा जलेश्वर नगरपालिका, एकडाडा गाउँपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र मनरा सिसवा नगरपालिका डुबानमा परेका थिए । यसका अलावा पानीको भेलले औरही नगरपालिका, रामगोपाल नगरपालिका, भंगहा नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिकाका केही ठाउँहरु पनि डुबान र बाढीबाट अछुतो रहन सकेनन् । जसको कारण जिल्ला भरिका सयौं घरपरिवार विस्थापित हुन पुगे । कतिपयको फुसको घर भत्किएको छ । अन्नपात डुब्दा र बग्दा जनजीवन कष्टकर बनेको छ ।

एकडारा गाउँपालिका–६ की सरिता मण्डल
जलेश्वर कारागरमा अहिले पनि पानी जमेकै छ । त्यसदिन प्रहरीले बाढी र डुबानमा फसेका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरेका थिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल कतिपय ठाउँमा पानी सुक्न थालेपछि विस्थापित भएका परिवार घर फर्किन थालेको बताउँछन् ।

‘डुबानको कारण विस्थापित भएको अवस्था थियो । डुबान घटेसँगै विस्तारै विस्थापितहरु आफ्नो घरमा फर्किनु भएको छ धेरै ठाउँमा’ सिडिओ रिजालले भने ‘बाँकी विस्थापितहरुको स्थानीयतहसँगै समन्वय गरेर गैर सरकारी संस्थाहरु खानेकुराको व्यवस्थापन गरिरहेका छन् । जलेश्वरमा अहिलेसम्म डुबान छ ।’

तत्कालीन रुपमा उद्धार गरेर प्रहरीले सुरक्षित स्थलमा सारे पनि विस्थापित भएका वा पूर्णरुपमा अन्नपात गुमाएका परिवारको राहतमा सम्बन्धित निकायले तदारुक नदेखाएको गुनासो छ । कतिपय विवरण संकलनकै काममा खटिरहेको अवस्था छ ।

सिडिओ रिजालले क्षतिको विवरण संकलन गरिरहेका बताउँदै पूर्णरुपमा घरमा क्षति पुगेकाहरुको आवास पुनर्निर्माण स्थानीय तहसँग समन्वय गरेर गर्ने बताए ।

‘तथ्यांकहरु संकलन भइरहेको छ । जसको घर सुरक्षित छ फर्किनु हुन्छ, भत्केको छ भने त्यसको स्थानीय पालिकासँग समन्वय गरेर पुनर्निर्माण गर्छौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu