Connect with us
Kapilvast Forest

नेपाल र ओमन भिड्दै , नेपालले जिते बिश्वमा छनाेट पक्का

२०८२, २९ आश्विन बुधबारमा प्रकाशित

काठमाडौ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ।

नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ। नेपाल र ओमानबिचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबिचको भिडन्त पनि हो।

आज यी दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ। अहिले ओमान र नेपाल समान छ अङ्कमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ।

ओमानलाई घरेलु मैदान र वातावरणको फाइदा छ तर अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा खेल हुँदा समर्थक नेपालकै बढी हुने पक्का छ। त्यसैले ओमानविरुद्ध खेल्दा पनि नेपाललाई घरमै खेलको अनुभव हुने छ भन्दा फरक पर्दैन।

इतिहास हेर्ने हो भने हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ। यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ। यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्ने छ।

यस प्रतियोगितामा ओमानले युएईसँग बाहेक प्रायः खेल सहजै जितेको छ। नेपालले भने प्रायः खेल जित्न सङ्घर्ष गर्नु परेको छ। यद्यपि अन्तिम समयसम्म हार नमान्ने नेपालले यस प्रतियोगितामा प्रायः खेलमा हारको स्थितिबाट नतिजा उल्ट्याएको छ। यही विशेषताले नेपाललाई खतरनाक टिमका रूपमा प्रस्तुत गरेको छ।

सुपर सिक्स चरणका खेलहरूमा नेपालको अविश्वसनीय पुनरागमनले विश्वभरका क्रिकेट प्रेमीलाई चकित बनाइदिएको छ। यूएई र कतारविरुद्ध हारको मुखबाट फर्काउँदै नेपालले जित हात पारेपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको चर्चा भइरहेको हो।

नेपालको सफलतामा प्रायः जितमा फरक फरक खेलाडी नायक बनेका छन्। त्यसैले ओमानविरुद्धको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा, आसिफ शेखमा नेपालको विशेष अपेक्षा हुने छ।​

कतारविरुद्ध पाँच रनको जित सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले सोमबार राति कतारलाई पाँच रनले हरायो। बलिङ र फिल्डिङमा नेपालको चम्किलो प्रदर्शन प्रशंसनीय देखिए पनि ब्याटिङ भने अझै कमजोर देखिएको छ। नेपाल दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्दै नेपाल आत्मविश्वासका साथ ओमान पुगेको हो।

सुपर सिक्सका दुवै खेलमा नेपालको बलिङ र फिल्डिङ नै जितको मेरुदण्ड बन्यो। तर कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति नेपालको मुख्य समस्याका रुपमा देखा परेको छ। यसलाई सुधार्दै आजको खेल जित्नेमा नेपाली खेलाडीको विश्वास छ।

नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj