प्रधानाध्यापकद्वारा एमाले कार्यक्रम सञ्चालन
न्युजसेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित दुधाधारी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुग्रीम कोरी नेकपा (एमाले)को राजनीतिक कार्यक्रममा सञ्चालनकर्ताका रूपमा देखिएपछि विवादमा तानिएका छन् ।
प्रधानाध्यापक कोरीले सञ्चालन गरेको सो कार्यक्रममा एमालेका नेता गिरिधारीलाल न्यौपाने, जिल्ला सचिव सिवी गहतराज, नेता शिव प्रसाद जयसवाललगायतको उपस्थिति रहेको थियो ।
शिक्षा मन्त्रालयले मन्त्री सुमना श्रेष्ठको कार्यकालमा लागू गरेको नीति अनुसार शिक्षक तथा प्रधानाध्यापकहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिन वा राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।
उक्त नीति पश्चात् अधिकांश शिक्षकहरूले दल सदस्यता परित्याग गरेका थिए । तर हाल पुनः कतिपय शिक्षकहरू खुलेआम राजनीतिक कार्यक्रममा देखिन थालेका छन् ।
स्थानीय बासिन्दाहरू भन्छन् “सरकारी विद्यालयको प्रधानाध्यापकले राजनीतिक कार्यक्रम सञ्चालन गर्नु शिक्षा क्षेत्रको नीतिसँग ठोक्किने कार्य हो । विजयनगर गाउँपालिका र शिक्षा शाखाले यसमा के कदम चाल्छन्, हेर्न बाँकी छ ।”
राजनीतिक निष्ठा र शिक्षाको निष्पक्षता बीचको सीमाना धमिलिँदै जाँदा ‘नुनपानी सरकारको खाने, गुणगान एमालेको गाउने’ भन्ने टिप्पणी स्थानीयबीच चर्चाको विषय बनेको छ ।
प्रधानाध्यापक कोरीले यस विषयमा कुनै पनि आधिकारिक धारणा समेत सार्वजनिक गरेका छैनन् । न्युज सेन्टर नेपालको टोलीले प्रअ कोरीलाई पार्टीको कार्यक्रम सन्चालन्को विषयमा प्रतिक्रिया लिन तथा सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको छ ।