काठमाडौं-
महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दैछ। खेल सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ। एक वर्ष अर्थात् ३६५ दिनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्न लागेको हो। पछिल्लो पटक यी दुई टोली काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा आमने–सामने भएका थिए।
यसपटक भने त्रिदेशीय प्रतियोगितामा भारतले नेपालको आतिथ्य गर्दा यो अवसर जुरेको हो। दुवैले आफ्नो पहिलो खेलमा इरानसँग पराजय बेहोरिसकेका छन्। दुई खेलमा स्पष्ट ६ अंक जोडेको इरान च्याम्पियन भइसक्यो।
अब नेपाल र भारतबीचको खेल प्रतियोगिताको सेट–अप अनुसार औपचारिकतामा मात्र सीमित हुनेछ। भारतविरुद्ध नेपाललाई इतिहास सुधार्ने अवसर छ।पछिल्ला तीन भेटमा नेपाललाई हराउन नसकेको भारत पनि यो भिडन्तका लागि सजग छ। यसकारण एउटा तथ्य निश्चित बन्छ। त्यो के भने खेल निक्कै रोमाञ्चक हुनेछ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले एकअर्कासँग खेल्न थालेको १५ वर्षभन्दा धेरै भएको छ। यो १५ वर्षमा यी दुई टिमबीच १८ खेल भए। जसमा नेपालले मात्र तीन खेलमा जित हासिल गरेको छ। ११ खेल भारतको पक्षमा गएको छ भने चार खेल बराबरीमा टुंगिएका छन्।
गत वर्ष भएको साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको थियो। नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेल थियो त्यो। रेफ्रीको विवादास्पद निर्णयका कारण खेल करिब १ घण्टा १५ मिनेट रोकिएको थियो।
तीन घण्टाभन्दा बढि समय लागेको त्यो खेलमा पछि नेपालले झण्डै २० हजार घरेलु समर्थकमाझ बाजी मार्यो। एक गोलले पछाडि परेको स्थितिलाई गोलमसिन सावित्रा भण्डारीले सनसनीपूर्ण तरिकाले बराबरीमा ल्याएकी थिइन।
सन् २०२३ फेब्रुअरीमा पनि सावित्राले भारतको मुखैमा पुगिसकेको जित खोसेकी थिइन्। चेन्नईमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतले दोस्रो हाफमा दुई गोलको अग्रता लिइसकेको थियो। निर्धारित समयसम्म नेपालले गोल फर्काउन सकेको थिएन। तर, इन्जुरी समयमा सावित्राले दुई गोल गरिन्।
सन् २०१९ मा भारतले हिरो गोल्डकप आयोजना गरेको थियो। जतिबेला सावित्राकै दुई गोलमा नेपालले भारतविरुद्ध ऐतिहासिक पहिलो जित हासिल गरेको थियो। राउन्ड रोविन लिगमा नेपाल २–१ ले विजयी भएको त्यो खेलमा सावित्राले खेलको सुरआती सात मिनेटभित्र दुई गोल गरेकी थिइन्। यो खेललाई सावित्रा आफै पनि करिअरकै अविस्मरणीय खेलका रुपमा लिन्छिन्