महाधिवेशन नगरे गगन र विश्वप्रकाशले चुनाव नलड्ने चेतावनी
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन नभए आफूहरू उम्मेदवार नबन्ने स्पष्ट चेतावनी दिएका छन्।
शुक्रबार बिहान संस्थापन इतर समूहका २५ जना केन्द्रीय सदस्यहरूसँगको छलफलमा महामन्त्रीद्वयले “निर्वाचनअघि महाधिवेशन गराउनु हाम्रो बटमलाइन हो” भन्दै महाधिवेशन नभए निर्वाचनमा प्रतिस्पर्धा नगर्ने अडान दोहोर्याएका हुन्।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार महामन्त्री थापा र शर्माले भने, “हाम्रो मुख्य लक्ष्य नयाँ कांग्रेस बनाएर निर्वाचनमा जानु हो। महाधिवेशनबिना नयाँ कांग्रेस बन्न सक्दैन। महाधिवेशन नभई निर्वाचनमा जानुपर्ने अवस्था आयो भने हामी उम्मेदवार बन्दैनौँ।”
संस्थापन इतर पक्षका ती २५ केन्द्रीय सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए। ती मागमध्ये मुख्य माग हो– १५औँ महाधिवेशनको प्रक्रिया मङ्सिरमै सुरु गर्ने र सम्भव भए पुस मसान्तभित्रै सम्पन्न गर्ने।
महाधिवेशनको मागमा आफूहरू सकारात्मक रहेको भन्दै महामन्त्रीद्वयले संस्थापन पक्षलाई दबाब बढाउन आग्रह गरेका थिए। बिहीबार सभापति शेरबहादुर देउवा र शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटिसकेका ती केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयसँग पनि छलफल गरेका हुन्।
कांग्रेसभित्र महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा गम्भीर मतभेद छ। यही विवादका कारण गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पटक-पटक स्थगित हुँदै अनिर्णीत बन्दै आएको छ।
सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको अवस्थामा महाधिवेशन समयमै नभए पार्टीभित्र ठूलो विद्रोह हुन सक्ने संकेत महामन्त्रीद्वयको अभिव्यक्तिले देखाएको छ।