रास्वपाले ७६ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनकेन्द्रित संगठनात्मक गतिविधिका लागि पार्टी सचिवालयले केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको हो । ‘पार्टीको जिल्ला संरचनामा भएका आन्तरिक समस्या बुझ्ने, त्यसलाई समाधान गर्न सहजीकरण गर्ने र संगठनलाई चुनावकेन्द्रित गराउन केन्द्रीय प्रतिनिधि परिचालन गरिएको हो,’ सचिवालय सदस्य सोबिता गौतमले भनिन्, ‘वडा, पालिका, जिल्ला र प्रदेशसँग समन्वयमा आन्तरिक मतभेद, अन्तर्विरोध वा समस्या सुल्झाएर चुनावका लागि एकताबद्ध वातावरण बनाउँछौँ ।’
झापाको जिम्मेवारी पाएकी गौतमले पहिलो चरणमा वडादेखि पार्टीका नेता–कार्यकर्तासँग छलफल थालेकी छिन् । वडा, पालिका र जिल्लाबाट आन्तरिक समस्या र अप्ठेरोहरू बुझेर समाधान निकाल्ने र जिल्लालाई एकताबद्ध बनाएर चुनावकेन्द्रित बनाउने उनको योजना छ । रास्वपाले पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न केन्द्रीय विभागका पदाधिकारी तथा सदस्यलाई चुनावकेन्द्रित अभियानका लागि जिल्लामा खटाएको हो । यसअघि रास्वपाले २१ फागुनको निर्वाचनका लागि २२ कात्तिकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको थियो । उम्मेदवारीको आवेदन दिन २५ मंसिरसम्मको समय तोकेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी पूर्ण रूपमा चुनावमा होमिएको बताए ।