कपिलवस्तुमा अन्तरदेशीय सीमा बैठक सम्पन्न, एआरटी सेवाको पहुँचबारे व्यापक छलफल
न्युजसेन्टर नेपाल,कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगरमा नेपाल–भारतबीच अन्तरदेशीय सीमा बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका सङ्घ–संस्थामा आवद्ध एचआईभी संक्रमितले नियमित रूपमा सेवन गर्ने एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) औषधिको पहुँच, उपलब्धता र सीमा पार श्रमिकको स्वास्थ्य सुरक्षाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष शुशिला बेल्बासेले कपिलवस्तु जिल्लामा ४ सय ८९ जना सक्रिय एआरटी प्रयोगकर्ता रहेको जानकारी दिनुभयो । कपिलवस्तुमा २ वटा एआरटी सेन्टर रहेको तथा संक्रमितहरूलाई औषधि सहज रूपमा उपलब्ध गराउन महिनामा एक दिन विशेष औषधि वितरण कार्यक्रम सञ्चालन हुँदै आएको उहाँको भनाइ थियो ।

सीमा क्षेत्रमा कामका सिलसिलामा भारत जाने नेपाली तथा नेपालमा आएर रोजगार गर्ने भारतीय नागरिकहरूलाई दीर्घकालीन रूपमा नियमित औषधि प्राप्तिमा देखिएका कठिनाइ समाधानका उपायहरूमाथि पनि बैठकमा केन्द्रीत छलफल भयो ।
उक्त कार्यक्रमको आयोजना आप्रवासी कामदारहरूको राष्ट्रिय सञ्जालले गरेको हो । कार्यक्रम समर्पण सहयोग समूह र पीआरसीको समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा एएचएफ नेपालकी कुसुम थापाले एआरटीको प्रभाव र आवश्यकता बारे प्रस्तुति दिनुभयो ।

त्यसैगरी भारतका राष्ट्रिय बाल स्वास्थ्य कार्यक्रमका डा. राज नारायण उपाध्यायले सीमा क्षेत्रका नागरिकले एआरटी सेवामा सहज पहुँच पाउन दुवै देशका उच्च निकायले अझ प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन सञ्जालका महासचिव बालकृष्ण गैरेले गर्नुभयो भने प्रस्तुति करण राजु जोशीले गर्नुभएको थियो ।
