नामको टुंगो छैन, नम्बर प्लेट फेर्न हतार
नागरिक दैनिकले प्रदेश ३ : नामको टुंगो छैन, नम्बर प्लेट फेर्न हतार शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाले भने, ‘प्रदेश नम्बर ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ ।’ उनले यो विषय टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई निर्देशन पनि दिए । यो निर्देशन कहिलेसम्म कार्यान्वयन होला, भन्न कठिन छ । तर, यातायाता व्यवस्था विभागलाई भने सवारीसाधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘बालुवाभित्र सीमा स्तम्भ’ शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको बालुवाभित्र छन् । ८१३ नम्बरको मूख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ ।
कान्तिपुर दैनिकले ‘समायोजनले कांग्रेस महाधिवेशन प्रभावित’ शीर्षकमा समाचार छापेको छ ।
समाचारअनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म तय गर्न सकेको छैन ।