चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास ट्यांकर दुर्घटना, पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बीच भागमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।मंगलबार बिहान साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटनामा परेको हो।
दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्ग ठप्प पारिएको र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ। राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने हजारौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रूपा लाबुङका अनुसार ट्यांकरबाट भइरहेको ग्यास लिक नियन्त्रणमा लिन विज्ञ टोली बोलाउने प्रक्रिया भइरहेको छ। स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म राजमार्ग खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।