भाषा परीक्षा पास गरे पनि कोरिया जान नपाएपछि युवा आन्दोलित
कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेका युवा आन्दोलित भएका छन् । भाषा परीक्षा पास गरेको मिति सकिन लाग्दासमेत रोजगारीका लागि कोरिया जान नपाएपछि युवाहरूले इपिएस शाखा कार्यालयमा बुधबार धर्ना दिएका हुन् । भाषा परीक्षा उत्तीर्ण गरेर कोरियाको रोजगारी सपना बुनिरहेका युवाको संख्या करिब १५ हजार छ । त्यसमध्ये करिब तीन हजार युवाको भाषा परीक्षा पास गरेको म्याद सकिन दुई महिना मात्रै बाँकी रहको कार्यालयले जनाएको छ । कृषि समूहतर्फ फर्म भरेका अधिकांश युवाको आगामी मार्चमा भाषा परीक्षा उत्तीर्ण गरेको म्याद सकिन लागेको हो ।
उनका अनुसार कोरियास्थित सरकारी अधिकारीहरूकै समन्वयमा त्यहाँका रोजगारदाता कम्पनीले इपिएस प्रणालीमार्फत कामदार मगाउने गरेका छन् । योग्य युवाहरूमध्ये रोजगारदाता कम्पनीका प्रतिनिधिले पनि गोलाप्रथाबाट आवश्यक संख्या छनोट गरी त्यसको जानकारी इपिएस शाखामा पठाउने गरेका छन् । रोजगारदाताले माग गरेको रोस्टर नम्बर उल्लेख भएका युवालाई कार्यालयले सम्पर्क गरेर सहजीकरण गर्दै आएको साहले जानकारी दिए । ‘धर्ना दिने युवाहरूलाई इपिएस शाखामार्फत कोरिया जानका लागि ठोस पहल हुँदैन भन्ने पनि थाहा छ, तर पनि कुनै विकल्प नभएपछि आन्दोलन गर्दा केही उपलब्धि होला कि भन्ने मनसाय युवा साथीहरूमा देखिन्छ,’ उनले भने ।
कोरियाले कृषि, उत्पादन र पानीजहाज तीन क्षेत्रमा नेपाली युवालाई रोजगारीका लागि अवसर दिने गरेको छ । त्यस्तै, एकपटक कोरियाको रोजगारी गरेर फर्केका युवालाई पनि अवसर दिने गरेको छ । अहिले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजारमध्ये उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानी जहाजतर्फ दुई हजार र पुन: कोरिया जानका लागि करिब दुई हजार युवा लाइनमा रहेको कार्यालयले जनाएको छ ।
दुवै देशको सरकारीस्तरमा श्रमसम्झौता भएकाले कोरियाको रोजगारी सबैभन्दा सुरक्षित मानिने गरेको छ । त्यस्तै, एकपटक कोरिया गएपछि पाँच वर्षसम्म रोजगारी गर्न पाउने सुविधाले पनि युवाहरू आकर्षित छन् ।
५३ सयको माग हुँदा एक लाख युवाको आवेदन
यो वर्ष कोरियाले नेपालबाट ५३ सय युवालाई इपिएस प्रणालीबाट रोजगारीमा लैजाने कोटा निर्धारण गरेको थियो । इपिएस शाखा कार्यालयले दसैँअगाडि लिएको पहिलो चरणको परीक्षामा एक लाख तीन हजार युवा सामेल भएका थिए । दोस्रो चरणको परीक्षा आगामी २१ पुसलाई तोकिएको छ । कोरियाले उत्पादन ३५ सय र कृषि १८ तर्फ युवा लैजाने गरी कोटा निर्धारण गरेको छ ।