न्यानो लुगा किन्न कठ्याङ्ग्रिएर भत्ता कुर्दै बृद्धवृद्धा
कपिलवस्तुमा पुष पहिलो साता यता घाम लागेको छैन । बाक्लो हुस्सु, कुहिरो र शितलहरका कारण विरामी, वृद्धवृद्धा, अशक्त तथा बालबालिका चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य छन् । चिसोका विरामीको संख्या पछिल्ला बर्ष भन्दा बढ्दो छ ।
न्यानो लुगा किन्ने आशमा वृद्ध भत्ता कुरेर बसेकी कपिलवस्तु नगरपालिका २ बर्दहवाकी ७८ बर्षिया वृद्ध बनरमती रैदासले ६ महिना यता भत्ता नपाएको बताइन् । ३ पटक सम्म वडा कार्यालय र २ पटक सम्म लक्ष्मी बैंक धाउदा समेत भत्ताको अत्तोपत्तो नभएको उनको गुनासो छ ।
“वडा अध्यक्षले बैैंकमा पठाउछन्, बैंकले पैसा यहाँ आउदैन हामी भत्ता बाड्दैनौ वडामै जाउ भन्छन्, कहाँ जाने के गर्ने यो चिसोमा” उनले कठ्याङ्ग्रिदै भनिन् । चिसो अत्याधिक बढेको र भत्ताकै पैसाले सिरक र न्यानो कपडा किन्ने उनको चाहना शितलहर झै चिसो बनेको बताइन् ।
उनी जस्तै भत्ता कुरेर बसेकी रमतलहा कि फुला देबी चमार पनि औषधी किन्न भत्ता कुरेको बताइन् । “चिसोले बिरामी परे, औषधी गराउदा ऋण लाग्यो, भत्ता आउला र दिउला भनेको खै अहिले सम्म पाएन” उनले भनिन् ।
उनी मात्र होइन वडा नं. २ का ८ वटा गाउँका १ हजार २ सय बढि वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतले ६ महिना देखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
न्यानो लुगा र औषधी जोहो मात्र होइन, चोकमा एक कप चिया पिउन पनि वृद्धवृद्धालाई धौ धौ छ । वडा अध्यक्ष अशोक गुप्ताको चरम लापरवाहीले सामाजिक सुरक्षा पाउने लक्षित बर्ग समयमै भत्ता पाउनबाट बञ्चित बनेका हुन् । यस अघि सामाजिक सुरक्षा भत्ता बाड्दै आएको तौलिहवा स्थित लक्ष्मी बैंकले वडा नं. २ लाई साउन देखि बाड्न नसकिने र अन्य कुनै बैंकमा खाता संचालनका लागि आग्रह गरिसकेको थियो ।
तर वडाले त्यसलाई समयमै व्यवस्थापन गर्न नसक्दा समस्या बल्भिएको कपिलवस्तु नगरपालिकाको आरोप छ । “वडाले समन्वय गरेर समयमै अन्य बैंकमा खाता खोलाएको भए कार्तिक महिनामै पैसा गइसक्थ्यो, उहाहरुले गर्दा वृद्धवृद्धाले दुख पाए” लेखा शाखामा कार्यरत एक कर्मचारीले भने ।
वडा अध्यक्षका कारण आफुहरुले दुख पाएको तर यस सम्बन्धमा नगरपालिकाले समेत चासो नदिएको पीडितहरुको गुनासो छ । “वडाको चुनावमा १ हजारको नोट लिएर आउथ्यो अशोक, अब भोट माग्न आयो भने कुचोले हान्छु” बर्दहवाकी एक दलित वृद्धले आक्रोश पोख्दै भनिन् ।
सामाजिक सुरक्षा भत्ता ६ महिना देखि नपाएको घटना सम्बन्धमा कपिलवस्तु नगरपालिकाले सेवाग्राही सम्पूर्णको बैंक खाता नखुलेको हुदा ढिलो भएको बताएको छ । यस सम्बन्धमा वडा अध्यक्ष अशोक गुप्ताले लक्ष्मी बैंकले भत्ता बाड्न अस्विकार गरेपछि प्रभु बैंकमा खाता खोल्ने कार्य जारी रहेको बताए ।
“अब सक्किन लागेको छ, दुइ किस्ता भत्ता एकै पटक माघ पहिलो हप्ता सम्म गइसक्छ” उनले भने । वडाले लापरवाही नगरेको खाता खोल्दा भत्ता पाउनेहरुले नै ढिलो गरेकाले समस्या आएको गुप्ताको दाबी छ ।