Connect with us
Kapilvast Forest

मतपत्र छाप्न २५ करोडमा किनेको मेसिन पाँच वर्षदेखि बेवारिसे

२०८२, २५ पुष शुक्रबारमा प्रकाशित

मतपत्र छाप्न भनेर निर्वाचन आयोगले आठ वर्षअघि २५ करोडमा खरिद गरेको तीन मेसिन विनाप्रयोग खिया लागेर खेर गएका छन् । मतपत्र छाप्ने भनेर महँगोमा किनिए पनि मतदाता नामावली र परिचयपत्र मात्रै छाप्ने क्षमता भएका मेसिनले सुरुका तीन वर्षमा न्यून परिमाणमा छपाइ गरे पनि पाँच वर्षयता बिग्रिएर गोदाममा थन्क्याइएको हो । आफ्नो मेसिन गोदाममा खियाले सड्दै गर्दा आयोगले आसन्न निर्वाचनका सामग्री छाप्न ३५ करोड बजेट विनियोजन गरेर जनक शिक्षा सामग्री लिमिटेडलाई जिम्मा दिएको छ ।

निर्वाचन सामग्री छपाइका नाममा हुने खर्च घटाउन भन्दै सरकारले बजेट दिएपछि ०७४ को निर्वाचनको अन्तिम प्रहरमा लागत अनुमानभन्दा महँगोमा मेसिन किनिएका थिए । मेसिन आइपुग्नै ढिला भएपछि सो वर्ष आयोगले त्यसबाट कुनै निर्वाचन सामग्री छपाइ गर्न सकेन । प्रतिमिनेट १३२ कागज (सिट) प्रिन्ट गर्ने क्षमताका ती मेसिनबाट निर्वाचन परिणामका पुस्तक मात्र छापिएका थिए ।

त्यस्तै, राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनको सानो मतपत्र, उपनिर्वाचनका सामग्री, निर्वाचन परिणाम र वार्षिक प्रतिवेदनका पुस्तक मात्र छापिए । ०७९ को तीनै तहका निर्वाचनमा प्रयोगमा नआएका मेसिन यसपालि पनि प्रयोगविहीन बनेका हुन् । मर्मतका लागि ठुलो रकम लाग्ने, तर बजेट नभएपछि मेसिन थन्किएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउँछन् । ‘मेसिन सञ्चालनका लागि आयोगले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । मर्मत खर्च नहुँदा बेवारिसे अवस्थामै छ । हामीले त जनक शिक्षा सामग्री केन्द्रलाई बुझाउन चाहेका थियौँ । तर, मर्मत खर्चकै कुरा आएपछि गोदाममै छ,’ उनले भने । मेसिन सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनीले तालिम दिएका कर्मचारी पनि अहिले सरुवा भइसकेको आयोगको भनाइ छ ।

आसन्न निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ दुई–दुई करोड प्रति गरी चार करोड मतपत्र छपाइ गर्नुपर्नेछ । यो छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘हामीसँग भएको मेसिनले ठुलो मात्रामा मतपत्र छाप्न सक्दैन । थोरै परिमाणमा मतपत्र, मतदाता नामावली, पोस्टर, मतदाता शिक्षालगायतका सामग्री मात्रै छाप्न सक्ने क्षमताका छन् । त्यही पनि बिग्रिएर थन्क्याइएका छन्, मर्मत नगरेसम्म केही पनि छपाइ गर्न सक्ने सम्भावना छैन,’ उनले भने ।

आयोगका एक आयुक्तका अनुसार २५ करोडमा किनिएका मेसिन ‘सेकेन्ड हेन्ड’ भएको भन्दै प्रश्न उठिरहेको छ । मेसिनको बढी मूल्यांकन गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियार र आयोगबिच ६० पटक पत्र आदान–प्रदान भएको पनि ती आयुक्तले बताए । आयोगकै टोलीले अध्ययन गर्दा मेसिन चलाउन नसकिने निष्कर्ष निकालेको उनले बताए । ‘मेसिन कसरी चलाउन सकिन्छ भनेर आयोगले पाँच–सातजनाको कमिटी बनाएर अध्ययन ग¥यो । कमिटीले चल्ने अवस्था नरहेको रिपोर्ट दियो । त्यसपछि रिपोर्ट र मेसिन यथास्थितिमा राख्ने निर्णय भयो,’ उनले भने, ‘अध्ययन गर्दा मेसिन राखिएको गोदाममा मुसाका गुँड भेटिएको थियो । त्यो फोटो पनि अध्ययन प्रतिवेदनमै समेटिएको छ ।’

उक्त मेसिन राज्यको अर्को निकायलाई हस्तान्तरणको वातावरण मिलाइदिन तत्कालीन र वर्तमान प्रधानमन्त्रीहरूलाई भेटेरै भन्दा पनि सुनुवाइ नभएको ती आयुक्तले बताए । ‘२५ करोड खर्च भएको राज्यको सम्पत्ति हो । राज्यकै अर्को निकायलाई हस्तान्तरण गर्ने वातावरण बनाइदिनुप¥यो भनेर आयोगका तत्कालीन प्रमुख आयुक्त र हामी आयुक्तहरूले तत्कालीन प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई भेटेरै भन्यौँ । तर, कोही तयार भएनन्,’ उनले भने, ‘वर्तमान प्रधानमन्त्रीलाई समेत आयोगका पदाधिकारीले भने पनि खासै चासो दिइएन ।’

आयोगका अनुसार मेसिन खरिदका लागि जनक शिक्षाले पनि धेरैपटक आग्रह गरेको थियो । १५ माघ ०७७, २४ पुस ०७८ र २६ साउन ०८० मा मेसिन आफूलाई हस्तान्तरण गरिदिन जनक शिक्षाले आयोगलाई पत्राचार गरेको आयोग अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार जनक शिक्षाले उक्त मेसिन पाए निर्वाचन सामग्री सहुलियत दरमा छापिदिने जनाएको थियो । जनक शिक्षाको आग्रहअनुसार आयोगले १६ माघ ०७७ मै प्रिन्टिङ मेसिन हस्तान्तरण गर्ने निर्णय गर्दै अन्तिम निर्णय सरकारले गर्नुपर्ने ठहर पनि गरेको थियो । यसका लागि आयोगले ०७७ र ०८० मा दुईपटक सरकारलाई पत्राचार गरेकोमा हस्तान्तरणका लागि सहमति नदिएको आयोगको भनाइ छ ।

नयाँ मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउँदा आयोगसँग १३ थान प्रिन्टिङ मेसिन थिए । करिब दुई करोड १५ लाख खर्चेर आयोगले यी मेसिन मर्मत गरेको थियो । त्यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनका लागि यिनै मेसिनबाट छपाइ गरिएको थियो । यिनै मेसिनबाट बाँकी निर्वाचनको मतपत्र छाप्न सकिने अवस्था पनि थियो । त्यतिवेला आयोग सचिवालयले पनि पुरानै मेसिन मर्मत गरेर काम लिन सकिने राय दिएको थियो । किन्नै परे तत्कालका लागि साबिककै आकार र सोही आसपासको मूल्यका मेसिन किन्नुपर्ने सुझाव सचिवालयको थियो । निजी कम्पनीलाई प्रतिस्पर्धा गराएर मतदाता नामावली–पत्र छाप्न सकिने विकल्प पनि आयोगसँग थियो । यसो गर्दा झन् सस्तो र लागत–प्रभावी हुने सम्भावना पनि थियो । तर, यी सबै विकल्पमा प्रवेशै नगरी आयोगले नयाँ मेसिन किन्ने निर्णय गरेको थियो ।

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शुक्रबारबाट जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फ दुई करोड मतपत्र छाप्न सुरु गर्दै छ । ‘सेतो कागजमा कालो चिह्न रहने गरी समानुपातिकको मतपत्र छापिनेछ,’ उनले भने, ‘मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुनेछ ।’प्रत्यक्षतर्फको दुई करोड मतपत्र भने ९ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न दिएपछि ११ माघबाट छाप्न सुरु हुनेछ ।

सञ्चालनमा ल्याउन ओली, देउवा र प्रचण्डदेखि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसम्मलाई आग्रह गर्दा पनि भएन सुनुवाइ

रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
मर्मत खर्च नहुँदा मेसिन बेवारिसे अवस्थामै छ । हामीले त जनक शिक्षा सामग्री केन्द्रलाई बुझाउन चाहेका थियौँ । तर, मर्मत खर्चकै कुरा आएपछि गोदाममै छ । 

थोत्रा मेसिन किनेर डुबाउनेमाथि अख्तियारको छानबिन पनि ‘होल्ड’
उजुरीपछि अख्तियार र निर्वाचन आयोगबिच ६० पटक पत्र आदान–प्रदान, तर भएन कारबाही

सार्वजनिक खरिद नियमावलीसमेत मिचेर २५ करोडमा किनिएका मेसिन ‘सेकेन्ड हेन्ड’ भएको भन्दै प्रश्न उठिरहेको छ । पर्ने मूल्यभन्दा बढी मूल्यांकन गरेर किनेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो । महँगो मूल्य हालेर किनिएका मेसिनबाट निर्वाचन सामग्री नछापिएको, लामो समय प्रयोगविहीन रूपमा थन्क्याइएको र बिक्री वा हस्तान्तरण पनि नगरिएको भन्दै अख्तियारले आयोगसँग दुई वर्षअघि नै जवाफ मागेको थियो । यसक्रममा अख्तियार र निर्वाचन आयोगबिच ६० पटक पत्र आदान–प्रदान पनि भएको एक आयुक्त बताउँछन् । तर, हालसम्म पनि अख्तियारले कुनै कारबाही गरेको छैन । अख्तियारले थालेको छानबिन विगत दुई वर्षदेखि ‘होल्ड’ छ ।
‘अख्तियारले फाइल क्लोज पनि नगर्ने, मेसिनको व्यवस्थापनबारे स्पष्ट राय÷निर्देशन पनि नदिने अवस्थाले आयोगलाई अप्ठ्यारो भएको छ,’ आयोगका एक अधिकारीले भने, ‘जसका कारण आयोग आफैँले मेसिन चलाउन पनि नसक्ने अवस्थामा अन्य निकायलाई पनि दिन नसक्ने र कबाडीमा बेच्ने विकल्प पनि छैन ।’ मेसिन खरिदमा अनियमितता भएको भन्दै महालेखापरीक्षकको कार्यालयले पनि गम्भीर प्रश्न उठाएको थियो ।

  • ०७४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्रलगायत निर्वाचन सामग्री छाप्न भनेर प्रतिमिनेट १३२ कागज (सिट) प्रिन्ट गर्ने क्षमताका तीन मेसिन ल्याउन फास्ट ट्र्याकमा ओम्नीलाई ठेक्का दिइएको थियो
  • तर, समयमा मेसिन नआएपछि त्यति वेला पनि मतपत्रलगायत सामग्री छाप्न जनक शिक्षालाई नै ठेक्का दिइएको थियो
  • ढिला गरी ल्याइएको मेसिनबाट ०७४ को निर्वाचन परिणाम पुस्तक, राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनको सानो मतपत्र, उपनिर्वाचनका सामग्री, निर्वाचन परिणाम पुस्तक र वार्षिक प्रतिवेदन मात्रै छापिए
  • त्यसपछि ०७७ मा बिग्रिएर थन्किएको मेसिन अहिलेसम्म गोदाममा खियाले सड्दै छ

साभार :नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu