बैतडीमा जिप दुर्घटनामा एकै वडाका तीनसहित चारको मृत्यु, चालकसहित ६ घाइते
बैतडीको पाटन नगरपालिका– ८, विजयपुरनजिकै सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एउटै वडाका तीनसहित चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका– ६, मोतीनगरबाट डडेलधुराका लागि छुटेको म.१ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको बैतडीका डिएसपी दीपककुमार रायले बताए ।
दुर्घटनामा सिगास– १ की १९ वर्षीया विमला ऐर, चार वर्षीया पिन्सा ऐर, २५ वर्षीया लालमती बोहरा र जिपचालक २८ वर्षीय गणेश विष्ट घाइते भएका छन् । त्यस्तै, पाटन नगरपालिका– ८ की २५ वर्षीया कमला विष्ट र आलिताल गाउँपालिका–३ घर भई गाजरीमा रहेको सिगास माविका शिक्षक ३२ वर्षीय वीरेन्द्र बोहरा पनि घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ भने विमला र लालमतीलाई धनगढी रेफर गरिएको छ ।
बैतडी सदरमुकाम हिँडेको गाडी थप यात्रु पाएपछि लागेको थियो डडेलधुरातिर
दुर्घटनामा परेको जिप सुर्नया– ६ को मोतीनगरबाट सुरुमा बैतडी सदरमुकाम गोठालापानीका लागि छुटेको थियो । वृन्दावन बजारमा पुग्दा डडेलधुराका यात्रु भेटेपछि गन्तव्य मोड्दै डडेलधुरातिर लागेको थियो । डडेलधुरा जाने यात्रु बोकेर हिँडेको १० मिनेटमै दुर्घटनामा परेको स्थानीय ज्ञानेन्द्र ऐरले बताए । ‘बैतडी हिँडेका तीनजनालाई वृन्दावनमै उतारेको रहेछ, उनीहरू अर्को जिपमा बसेर बैतडीतर्फ जाँदै थिए,’ ऐरले भने ‘त्यहाँबाट हिँडेको १० मिनेटमै दुर्घटनामा पर्यो ।’
तीव्र गतिमा गुडिरहेको जिप विजयपुरनजिक पुग्दा अनियन्त्रित भएर सडकबाट सिधै भिरमा खसेको प्रत्यक्षदर्शी हिमाल ऐरले बताए । ज्याफूसम्म हिमाल पनि त्यही जिपको यात्रु थिए । जिपले रुट मोडेपछि उनी अर्को गाडीमा चढेर गन्तव्य तय गर्दै थिए । एकछिन अघिसम्म आफैँ चढेको गाडी दुर्घटनामा पर्दा उनी अर्को गाडीमा पछिपछि थिए । ‘सुरुमा मलगायत तीनजना त्यही जिपमा थियौँ । तर, चालकले डडेलधुरा जाने भनेपछि ज्याफूबाट अर्को जिपमा चढेर पछिपछि हिँडिरहेका थियौँ,’ ऐरले भने, ‘केही मिनेटपछि मोडमा अगाडिबाट मिनीटाटा आयो, बायाँ (भिर)तर्फ रहेको जिप हेर्दाहेर्दै भिरमा खस्यो ।’
राष्ट्रिय परिचयपत्र बनाउन बैतडी हिँडेका ऐर उद्धारपछि घाइतेसँगै डडेलधुरा अस्पताल हिँडेका छन् । ‘अगाडिबाट मिनीटाटा आयो, क्रस हुने वेला जिपले सायद ब्रेक लगाएजस्तो लाग्छ, हेर्दाहेर्दै चिप्लेर भिरमा खस्यो,’ उनले भने । जिपचालक गणेश विष्ट उपचारका क्रममा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बैतडीका डिएसपी रायले बताए ।