Connect with us
Kapilvast Forest

जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जिल्लाबाट मनोनयन दर्ता गराएका १० उम्मेदवारमध्ये उनी मात्र महिला हुन्। उमेरका हिसाबले पनि विनीता सबैभन्दा कान्छी उम्मेदवार हुन्। जुम्लाको चुनावी इतिहासमा प्रत्यक्षतर्फ निर्वाचन आयोगमा नाम दर्ता गराउने उनी दोस्रो महिला उम्मेदवार बनेकी छन्। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले गोमा गौतम कुँवरलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। गोमा ज्ञानबहादुर शाहीसँग पराजित भएकी थिइन्।

२०७९ सालको निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी विनीता यसपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन्। संसदमा रहँदा उनले कर्णालीका मुद्दा, सुशासन र समानताको विषयमा निरन्तर आवाज उठाएकी थिइन्। खस पोसाकमा संसद प्रवेश गर्नु र खस भाषामा बोलेर खबरदारी गर्नु उनका फरक पहिचान बनेका थिए।

विनीताको उम्मेदवारीलाई युवा पुस्ताको राजनीतिक चाहनासँग जोडेर हेरिएको छ। मनोनयन दर्ताका क्रममा पनि उनलाई जेनजी पुस्ताको उल्लेख्य साथ देखियो। ‘संसदभित्र परिवर्तन र विकासका पक्षमा बोले पनि सुनुवाइ भएन,’ उनले भनिन्, ‘अहिले सडकमा देखिएको जेनजी आन्दोलनले परिवर्तनको चाहना प्रष्ट पारेको छ। त्यसैको प्रतिनिधित्व गर्दै चुनावमा उत्रिएकी हुँ।’

कर्णालीलाई नीति र बजेटमा सधैं पछाडि पारिएको उनको आरोप छ। संसदमा रहँदा कर्णालीका लागि अनुकूल कानुन बनाउन आवाज उठाइरहेको बताउँदै उनले यसपटक बहुमतका साथ संसदमा पठाउन मतदातासँग आग्रह गरेकी छन्। ‘सम्मान होइन, समानता चाहियो भन्दै खबरदारी गर्‍यौं, तर बहुमतले सुनेन,’ उनले भनिन्, ‘युवाको बलियो उपस्थितिले बनेको सरकारले मात्र कर्णाली र सुगम क्षेत्रबीचको विभेद अन्त्य गर्न सक्छ।’

यस निर्वाचनमा विनीता ९ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छिन्। नेकपाबाट नरेश भण्डारी, राप्रपाबाट ज्ञानबहादुर शाही, एमालेबाट शान्तिलाल महत, कांग्रेसबाट दीपबहादुर शाही, नेमकिपाबाट बिर्खबहादुर रावत, नेकपा माओवादी केन्द्रबाट बिर्खबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल चुनावी मैदानमा छन्।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लामा ७१ हजार ७ सय ३९ मतदाता छन्। तीमध्ये ३७ हजार ४ सय ५९ पुरुष र ३४ हजार २ सय ८० महिला मतदाता रहेका छन्। जिल्लामा १ सय ८ मतदान केन्द्र र ८३ मतदान स्थल तोकिएका छन्।

गत निर्वाचनमा रास्वपाले जुम्लामा समानुपातिकतर्फ ९ सय मत पाएको थियो। यस पटक भने आफ्नो अनुभव, योजना र साहसको कदर हुने विश्वाससहित विनीता घरदैलो अभियानमा सक्रिय देखिएकी छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu