एक महिना लामो स्वस्थानी व्रतकथा आज समापन गरिँदै
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीतछोरालाई एवं मीतछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रतविधि छ ।यसैगरी माधवनारायण मेला पनि आज समापन गरिँदै छ । यस अवसरमा भक्तपुरको हनुमानघाटमा आज बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ ।