Connect with us
Kapilvast Forest

अमेरिकासँग वार्ता गर्न इरान तयार, ट्रम्पको धम्कीले तनाव कायमै

२०८२, १९ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताका लागि संरचना निर्माणको काम अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो इरानका उच्च अधिकारीबाट सो अभिव्यक्ति आएको हो ।इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको संरचना निर्माण अघि बढिरहेको’ जानकारी दिएका छन् । तर उनले सम्भावित वार्ताको ढाँचाबारे थप विवरण दिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान युद्धभन्दा सम्झौता गर्न चाहेको आफूलाई विश्वास रहेको बताएका छन् ।फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘इरान हामीसँग कुरा गरिरहेको छ । सम्झौता हुन सक्छ कि सक्दैन, हेर्न बाँकी छ । नभए के हुन्छ, त्यो पनि हेर्नेछौं‘ हाम्रो ठूलो नौसैनिक टोली त्यतातर्फ गइरहेको छ । उनीहरू वार्तामा छन् ।’गत केही सातायता इरान र अमेरिकाबीच तनाव बढ्दो छ । ट्रम्पले इरानमा हालै भएका सरकारविरोधी प्रदर्शनमाथिको दमन र इरानी परमाणु कार्यक्रम सीमित गर्नुपर्ने विषयलाई लिएर बारम्बार सैन्य आक्रमणको चेतावनी दिँदै आएका छन् ।

यसैबीच ट्रम्प प्रशासनले अब्राहम लिंकन विमानवाहक युद्धपोतको नेतृत्वमा इरान नजिकै ठूलो नौसैनिक तैनाथ गरेको छ । यसबाट सम्भावित सैन्य टकरावको आशंका बढाएको अलजजिराले जनाएको छ ।

अमेरिकासँग वार्ता गर्न इरान तयार

वरिष्ठ इरानी नेताहरूले अमेरिकासँग वार्ताका लागि तयार रहेको बताएका छन्, तर ट्रम्पले आक्रमणको धम्की दिन बन्द गर्नुपर्ने शर्त उनीहरुले राखेका छन् ।यसअघि ट्रम्पले इरानले परमाणु कार्यक्रमबारे वार्ता गर्न नमाने बल प्रयोग गर्न अमेरिकी जहाजहरू तयार रहेको बताएका थिए ।अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ९सेन्टकम० ले पनि शुक्रबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स ९आइआरजीसी० लाई होर्मुज जलडमरूमध्यमा आयोजना गर्न लागेको दुईदिने नौसैनिक अभ्यासबारे चेतावनी दिएको थियो ।

सेन्टकमको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेना, क्षेत्रीय साझेदार वा व्यापारिक जहाज नजिक असुरक्षित र अव्यवसायिक गतिविधिले ठक्कर, तनाव र अस्थिरताको जोखिम बढाउँछ ।’यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अमेरिकाले इरानको किनार नजिकै बसेर ‘हाम्रो शक्तिशाली सशस्त्र बलले आफ्नै क्षेत्रमा कसरी अभ्यास गर्ने भन्ने आदेश दिन खोजिरहेको’ बताएका थिए ।

उनले थप भनेका छन्, ‘अमेरिकी सरकारले आतंकवादी संगठन घोषणा गरेको सेनासँगै पेशागत व्यवहारको अपेक्षा गर्नु र त्यही संगठनलाई सैन्य अभ्यास गर्ने अधिकार स्वीकार गर्नु विरोधाभासपूर्ण छ ।’अमेरिकाले सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा आइआरजीसीलाई ‘आतंकवादी संगठन’ घोषणा गरेको थियो ।अराघचीले भनेका छन्, ‘हाम्रो क्षेत्रमा बाह्य शक्तिको उपस्थितिले सधैँ घोषणा गरिएभन्दा उल्टो परिणाम दिएको छ– तनाव घटाउने होइन, बढाउने ।’

अवस्था ‘नाजुक’, क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास

अल जजिराले तेहरानमा रहेका आफ्ना संवाददाता तोहिद असादीको भनाइ उद्धृत गर्दै अवस्था ‘अत्यन्तै संवेदनशील र नाजुक’ रहेको जनाएको छ । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीको वार्ता प्रगतिसम्बन्धी वक्तव्यलाई भने ‘सकारात्मक संकेत’ मानिएको छ ।सम्भावित टकराव टार्न इरानी वरिष्ठ अधिकारीहरूले पछिल्ला दिनहरूमा सहयोगी मुलुकहरूसँग कूटनीतिक छलफल गरिरहेका छन् ।

यसै क्रममा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले शनिबार तेहरानमा लारिजानीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे छलफल गरेका थिए ।कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्वका लागि तनाव घटाउने सबै प्रयासलाई समर्थन गर्ने दोहोर्‍याएको छ । साथै खाडी क्षेत्रका जनतालाई सम्भावित टकरावको असरबाट जोगाउन कूटनीतिक समन्वय आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu