Connect with us
Kapilvast Forest

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

chopri
यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ। घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति सो मूल्य बराबरको सुनचाँदीका गरगहना चोरेर फरार भएका हुन्।माघ १३ गते त्यस्तै वीरगञ्ज–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकीन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ। पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदीलगायत गरगहना चोरी भएको देखाउँछ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदीलगायत गरगहनाको चोरीका घटना भएको बताए। ‘केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ’, उनले भने, ‘अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौँ।’

पर्सा प्रहरीका प्रवक्ता बस्नेतले अधिकांश घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताए। ‘सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानका लागि सर्वसाधारणसमक्ष अनुरोध गर्दछौँ, त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ’, उनले भने।

प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको दाबी गरे। पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना प्रतिवादी फरार रहेका छन्। चोरीमा संलग्न रहेका १३ प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन्। हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानका क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन्। चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन्। दुई जना साधारण तारेखमा छुटेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu