उम्मेदवारले स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
काठमाडौँ –
निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताए। प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन्।
उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे।