कपिलवस्तु जेसिजद्वारा नेतृत्व विकास लक्षित एकदिने तालिम सम्पन्न
कपिलवस्तु । नेतृत्व विकास, संस्थागत सुदृढीकरण तथा भावी नेतृत्व तयार गर्ने उद्देश्यसहित कपिलवस्तु जेसिजको आयोजनामा एक दिने JCI Pre-Induction तथा LOM Officer Training कार्यक्रम कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।
प्रमुख अतिथी सेनले जेसिज केवल पद र कार्यक्रमको संस्था नभई नेतृत्व, अनुशासन र सेवाको पाठशाला भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता तालिमले युवामा नेतृत्व गर्ने साहस, निर्णय क्षमता र समाजप्रतिको उत्तरदायित्व विकास गर्छ। आजको सिकाइ नै भोलिको सफल नेतृत्वको आधार हो।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जेसिजले निरन्तर युवालाई सक्षम बनाउँदै समाज र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
तालिमका प्रमुख प्रशिक्षक बुटवल जेसिज वर्ष २००८ का अध्यक्ष मनोज भट्टराईले जेसिजको मूल्य, उद्देश्य, संस्था सञ्चालन, पदाधिकारीको भूमिका र प्रभावकारी नेतृत्वका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले नेतृत्व भनेको पद नभई जिम्मेवारी र उदाहरण भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम कपिलवस्तु जेसिज वर्ष २०२६ का अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु जेसिज वर्ष २०१२ का अध्यक्ष रामजी सेन,जेसिजका निवर्तमान अध्यक्ष जनक प्रसाद बेल्बासे, पूर्व अध्यक्ष प्रविन पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव निलकमल थारुले गर्नुभएको थियो भने तालिम संयोजक उपाध्यक्ष गणेश पोख्रेलको सहजीकरण तथा स्वागत मन्तव्यमा तालिम सम्पन्न भएको थियो।
तालिममा कपिलवस्तु जेसिजका पदाधिकारी, सदस्यहरू तथा जुनियर जेसिजका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै जेसीज प्रतिको बुझाइ स्पष्ट बनाएको प्रतिक्रिया दिएका छन्।