Connect with us
Kapilvast Forest

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

२०८२, २६ माघ आईतवारमा प्रकाशित

मुम्बई –

आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ ।शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिएका थिए । नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही न केही ‘स्पेशल’ गर्ने खोजीमा हुनेछ ।

हुन पनि इंग्ल्यान्ड एकाध खेलमा ‘सरप्राइजिङ’ हिसाबले नसोचेको टोलीसँग पराजित भइरहेको हुन्छ । नेपाली क्रिकेट टिमका पेस बलर सोमपाल कामीले विश्वकप खेल्न आउनुअघि इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने समेत बताएका थिए ।‘इंग्लयान्ड हरेक वर्ल्डकपमा कुनै न कुनै सरप्राइजिङ टोलीसँग हारेको हुन्छ,यसपटक नेपाल नै हुन पनि सक्छ’ उनले भनेका थिए । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ ।

तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।

हेड टु हेड

नेपाल र इंग्ल्यान्ड हालसम्म टी-२०आईमा खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ ।इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी-२०आई शृंखला जितेर आएको छ । नेपालले मुम्बईमै भएको अभ्यास खेलमा एमसीए प्रेसिडेन्टलाई हराएको थियो भने क्यानडा र यूएईसँगको वार्म अप खेल जितेको थियो ।नेपाल टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा हुनेछ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायमै राख्ने दाउमा हुनेछ ।

टिम कम्बिनेसन र सम्भावित ११

नेपालले अभ्यास खेलदेखि वार्म अप खेलसम्म आइपुग्दा विभिन्न कम्बिनेसनहरू प्रयोग गरिरहेको थियो । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी केही माथि आएका छन् भने आरिफ शेखलाई पनि बढी मौका दिइएको छ ।ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख नै लगभग पक्का देखिएका छन् भने वान डाउनमा कप्तान रोहित पौडेल, २ डाउनमा उपकप्तान दीपेन्द्र अनि ३ डाउनमा आरिफ शेख खेल्न सक्छन् । यसपछि सन्दीप जोरा र गुल्शन झाले खेल्ने सम्भावना छ ।

वाङ्खडे मैदान पेस बलरलाई बढी फाइदाजनक हुने हुँदा करण केसी, सोमपाल कामी र नन्दन यादव तीनवटै पेसर खेल्न सक्छन् । त्यसो हुँदा स्पीजर सन्दीप लामिछाने मात्र खेल्ने छन् । मिस्ट्री स्पिनर शेर मल्ललाई पनि प्रशिक्षकले मौका दिएमा सन्दीप जोरा नखेल्न सक्छन् ।

इंग्ल्यान्डमा बाँयाहाते ब्याटर धेरै भएकाले ललितले सुरुवाती खेलमा मौका नपाउन सक्छन् ।नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल इंग्ल्यान्डले भने खेलका लागि शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ । इंग्ल्यान्डले नेपालविरुद्ध बलियो प्लेइङ ११ मैदानमा उतार्दै छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्‍यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड

प्रभाव पार्न सक्ने खेलाडी

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेल सबैभन्दा मुख्य खेलाडीका रूपमा रहनेछन् । पावरप्लेमा उनको ब्याटिङबाट नेपालको पूरा इनिङकै आधार तय हुन सक्छ ।विशेषगरी वाङ्खडे मैदानमा स्क्वायर बाउन्ड्री छोटो रहेको र कुशलले एक्रस द लाइन शटहरू खेल्न माहिर रहेकाले उनको ब्याटबाट रन बन्नुपर्ने हुन्छ ।

यस्तै दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा भने बलिङमा मिस्ट्री स्पीनर शेर मल्ल खेलेको अवस्थामा उनको प्रदर्शनमा पनि नजर रहनेछ ।यस्तै इंग्ल्यान्डका लागि टप अर्डर ब्याटर फिल साल्ट र जस बट्लरको प्रदर्शन महत्वपूर्ण रहनेछ । यी दुई खेलाडी विश्वकै उत्कृष्ट पावर हिटरमध्येका हुन् ।

मिडल अर्डरमा कप्तान ह्यारी ब्रूक प्लेयर्स टु वाचका रूपमा रहनेछन् भने बलिङमा पेस बलर जोफ्रा आर्चर अनि स्पीनर आदिल राशिदमाथि नजर रहनेछ ।

खेलाडी के भन्छन्

नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँग खेल्दा केही टफ भएपनि आफ्नो तर्फबाट बेस्ट दिने बताएका छन् । उनले यसपटक सुपर ८ मा पुग्नेगरी राम्रो तयारी भएको उल्लेख गरेका छन् ।

इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताउँदै नेपालसँगको खेलपनि अन्य खेलजस्तै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

 

खेल : नेपाल भर्सेस इंग्ल्यान्ड, समूह ‘सी’
मिति र समय : २५ माघ, आइतबार, दिउँसो ३:१५ बजे
स्थान : वाङ्खडे स्टेडियम, मुम्बई
मौसम : सफा, बेलुका डिउ आउने सम्भावना कम

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu