इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
टस जितेर ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इङल्याण्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाउँदा कप्तान ह्यारी ब्रुकले ५३ रनको योगदान गरे।
जोस बटलरले २६ रन जोड्दा विल ज्याक्स ३९ रनमा अविजित रहे। बाँकी खेलाडीले दोहोरो अंकमा रन हान्न सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले समान एक एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका थिए। नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो। दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।