निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि एवं अभावका कारण संकटमा निर्माण उद्योग
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी जस्ता निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेले सोमवार विज्ञप्ति जारी गर्दै बजारमा निर्माण सामाग्रीहरूको अत्याधि मूल्यवृद्धिसँगै तिनको अभावले निर्माण उद्योग थप मर्कामा परेको उल्लेख गरेका छन् । ‘निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको छ’ महासचिव घिमिरेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ।
यसैबीच महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित कार्य समितिको सोमबार सम्पन्न पहिलो बैठकले पूर्वाधार मैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकार समक्ष अनुरोध गरेको छ । त्यस्तै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका—२ तत्काल जारी गर्न नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष बैठकले माग गरेको छ ।