खरेन्द्रपुरका युवाहरु सरसफाई अभियानमा
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ को सहयोगमा शिवराज युथ क्लबले बेलनदी घाट क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको छ ।
क्लबका अध्यक्ष विजय भुसालका अनुसार वडाको सहकार्यमा बेलनदी घाट, सुपा देउराली मन्दिर, खरेन्द्रपुर आश्रम तथा सोनवागढ मन्दिर परिसरमा व्यापक सरसफाई गरिएको हो । अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा जम्मा भएको फोहोर व्यवस्थापन गर्दै वातावरण स्वच्छ बनाउन पहल गरिएको जनाइएको छ ।
स्थानीय समाजसेवी तथा अगुवा कपिल खनालले सरसफाई अभियानले युवाहरूमा सकारात्मक ऊर्जा फैलिएको र समाजप्रति उत्तरदायित्व बढाएको बताउनुभयो ।
उहाँले यस्ता गतिविधिले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समुदायलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, खरेन्द्रपुरका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई सार्वजनिक स्थलहरूको सरसफाई गर्नु उदाहरणीय कार्य भएको स्थानीयहरूले बताएका छन् ।
स्थानीय तह र युवाहरूको सहकार्यमा सञ्चालन गरिएको यस्तो अभियानले वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।