विपक्षीहरू अध्यादेशलाई अस्वीकृत गराउने रणनीतिमा
सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन् । आह्वान भइसकेको संसद् अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ्ने भन्ने निष्कर्षमा भने पुगेका छैनन् ।
संघीय संसद्का दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभामा सत्तारूढ रास्वपाको झन्डै दुईतिहाइ सिट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन । तर राष्ट्रिय सभामा रास्वपाको उपस्थिति छैन । त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृहकार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन् ।
हालै जारी गरिएका सबै आठ अध्यादेश सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पेस गर्ने कार्यसूची छ । तीमध्ये ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश’ र ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ लाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाइ छ । ‘सबै अध्यादेश एकै पटक अस्वीकृत गराउने वा छनोट गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ,’ एक नेताले भने ।