Connect with us
Kapilvast Forest

पार्टीलाई बलियो बनाउने उद्धेश्यले भेटघाट जारी राखेको छु: अध्यक्ष यादव

२०८३, ३१ बैशाख बिहीबारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार सप्तरीको राजविराजमा अगुवा कार्यकर्तासँग भेटघाट गरे । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पालिकाका कार्यकर्तासँग पनि उनले छलफल गरिसकेका छन् ।

२१ फागुनको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका यादव सप्तरी–३ बाट पराजित भएका थिए । यादव मात्र होइन जसपा नेपालको चुनाव चिह्न छाता लिएर देशभरीबाट उठेका ९४ उम्मेदवार नै विजयी हुन सकेनन् ।

समानुपातिकतर्फ १ लाख ८२ हजार २८५ मत पाएको जसपा नेपालले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । मधेशवादी दल मध्ये सबैभन्दा बढी मत पाएको जसपा नेपालका अध्यक्ष यादवले निर्वाचनपछि अनौपचारिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

‘गत निर्वाचनको समीक्षा गरेर पार्टीलाई बलियो बनाउने उद्धेश्यले भेटघाट जारी राखेको छु,’ अध्यक्ष यादवले भने, ‘जनतालाई भेटेर आफ्नो कुरा राख्ने र जागरूक बनाउने काममा लागेको छु ।’

काठमाडौंमा पनि यादवले नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिक छलफलमै जोड दिइरहेका छन् । औपचारिक बैठक नहुँदा पनि यादव केन्द्रीय कार्यालयमा नियमित आउने गरेका छन् ।

फागुनको चुनावमा नमिठो पराजय भोगेको जसपा नेपालले निर्वाचनको औपचारिक समीक्षा भने गरेको छैन । निर्वाचनको पूर्वसन्ध्यामा जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरण गरेको थियो । त्यही एकीकरणको प्रक्रियागत काम नटुंगिँदा औपचारिक समीक्षा बैठकमा असर परेको नेताहरू बताउँछन् ।

गत पुसमा भएको सहमति अनुसार महन्थ ठाकुर जसपा नेपालको संरक्षक बनिसकेका छन् । उनी राष्ट्रिय सभा सदस्य समेत हुन् ।

जसपा नेपाल र लोसपाबीच एकीकरण हुनुअघि लोसपाले अन्य दलसँग एकता गरेको थियो । मंसिर २४ गते हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले लोसपासँग एकीकृत हुने सहमति गरेको थियो । लाल नेतृत्वको तमलोपा यो सहमतिबाट बाहिरिइसकेको छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी आफ्नो पार्टी एकीकरणमै रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले लोसपासँग एकता गर्‍यौं । त्यसपछि लोसपा र जसपा नेपालबीच एकीकरण भयो । मैले आफ्नो कुरा लोसपाका नेताहरूसँग भेटेर राख्नेछु ।’

निर्वाचन आयोगको सोमबार बसेको बैठकले जसपा नेपालको एकीकरणलाई मान्यता दिने निर्णय गरिसकेको छ । आयोगबाट औपचारिक पत्र प्राप्त भइसकेको पछि पार्टी कामले गति लिने नेताहरू बताउँछन् । जसपा नेपालका सह-अध्यक्ष रकम चेम्जोङ अन्य दलहरूसँग पनि एकताका लागि छलफल भइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘पार्टीलाई सुदृढ बनाउने विषयमा विभिन्न कोणबाट छलफल भइरहेको छ । छिट्टै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर ठोस निर्णय गर्छौं ।’

विभिन्न दलसँग एकता गरेर जाँदा पनि थ्रेसहोल्ड कटाउन नसकेको विषयमा अध्यक्ष यादवले केन्द्रदेखि वडा तहका कार्यकर्तासँग छलफल गरिरहेका छन् ।

सैद्धान्तिक प्रष्टता हुँदाहुँदै पार्टीले अपेक्षित परिणाम भोग्न नसकेको जसपा नेपालका नेताहरूको बुझाइ छ । अध्यक्ष यादव भन्छन्, ‘जनतालाई हाम्रो एजेण्डा बुझाउँदै संगठन मजबुत बनाउने विषयमा जोड दिइरहेको छु ।’

गजेन्द्रनारायण सिंहले मधेशी जनताको न्यायोचित प्रतिनिधित्व, नागरिकता, समावेशीता, संघीयता जस्ता मुद्दालाई केन्द्रमा राखेर साढे तीन दशक पहिले नेपाल सद्भावना पार्टी स्थापना गरेका थिए । यो पार्टीले मधेशको मुद्दालाई सदनमा प्रखर रुपमा उठायो ।

२०६४ मा आईपुग्दा मधेशवादी दल संविधानसभाको चौथो र पाँचौं ठूलो पार्टी बन्यो । ५२ सिट सहित चौथो ठूलो दल बन्न सफल मधेशी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए ।

२०३२ सालमा विद्यार्थी जीवनमै वामपन्थी राजनीति सुरु गरेका यादवले नेकपा (एमाले) र नेकपा (माओवादी)मा आवद्ध भएर पनि काम गरे । कम्युनिस्ट राजनीति छाडेर मधेशी जनअधिकार फोरमको अध्यक्ष बनेका यादवकै नेतृत्वमा २०६३ को अन्तरिम संविधानको विरोध भयो ।

२०६३ माघमा काठमाडौंको माइतीघर मण्डलमा आयोजित अन्तरिम संविधान जलाउने कार्यक्रम मधेश आन्दोलनको झिल्को बन्यो । मधेश आन्दोलनकै जगमा पहिलो ६०१ सदस्यीय संविधानसभामा ८७ सभासद मधेशवादी दलका थिए ।

२०६४ मा सुनसरी–५ र मोरङ–५, २०७० मा सुनसरी–५, २०७४ मा सप्तरी–२ र २०८० –उपनिर्वाचन) मा बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव उपप्रधानमन्त्री समेत बने ।

मधेशी जनअधिकार फोरम २०६५ मै विभाजित भएर फोरम लोकतान्त्रिक बन्यो । त्यसपछि यादव नेतृत्वको पार्टीले लगातार टुटफुट र जुट झेल्दै आएको छ ।

अशोक राईको पार्टीसँग एकीकरण भएपछि संघीय समाजवादी फोरमको अध्यक्ष बने, यादव ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीसँग एकता भएपछि समाजवादी पार्टी बन्यो । भट्टराई र राई दुबै यादवसँग छैनन् ।

गत फागुनको निर्वाचन भन्दा पहिला नै लोसपासँग एकीकरण गरे पनि कुनै पनि मधेशवादी दलले प्रतिनिधिसभामा आफ्ना उम्मेदवार जिताउन सकेनन् ।

त्यतिबेला एकीकरणमा आउन नमानेको सीके राउतको जनमत पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, अशोक राईको जसपा लगायतका पार्टीसँग छलफल भइरहेको नेताहरूले बताएका छन् ।

निर्वाचनको परिणामपछि यादव अनौपचारिक छलफल र भेटघाटमा केन्द्रित भएका हुन् । यसबीचमा परिवार र आफन्तलाई पनि समय दिने गरेको उनका निकटस्थहरू बताउँछन् ।

जसपा नेपालका महासचिव लालबाबु राउत अध्यक्ष यादवले जनतासँगको अन्तरक्रियामा जोड दिएको बताउँछन् । उनी भन्छन्, ‘मुद्दामा कुनै समस्या छैन भन्ने बुझेर होला, अध्यक्षज्यूले संगठन विस्तारमै तीव्रता दिनु भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu