जेठ २२ देखि ‘फिन इलेक्ट्रो–टेक २०२६’ हुने
काठमाडौं । नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजना गर्न लागिएको प्रदर्शनीको यो १२औं संस्करण हो । ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा सञ्चालन हुने यस प्रदर्शनीले विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालका अनुसार प्रदर्शनीमा नेपालसहित भारत, चीन लगायत विभिन्न देशका कम्पनीहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि, एलईडी, सौर्य ऊर्जा, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार लगायतका अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिनेछन् ।
कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ २२ गते बिहान १० बजे गर्ने तय भएको छ । उद्घाटन समारोहमा सरकारी उच्चपदस्थ अधिकारी, उद्योगी–व्यवसायी तथा प्राविधिक विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालमा बढ्दो विद्युत उत्पादन, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको विस्तारसँगै सुरक्षित र आधुनिक विद्युतीय सामग्रीको माग बढिरहेको सन्दर्भमा यस्तो प्रदर्शनीले बजार र प्रविधिबीच सेतुको काम गर्ने विश्वास गरिएको छ ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा ऊर्जा क्षेत्रलाई प्राथमिकता दिइएकाले प्रदर्शनीले ती नीतिलाई व्यवहारमा उतार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा विभिन्न स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूले आफ्ना नवीनतम उत्पादन र सेवा सार्वजनिक गर्नेछन्। यसले उद्योगी, प्राविधिक, विद्यार्थी तथा उपभोक्ताहरूलाई एउटै थलोमा नवीनतम प्रविधिको जानकारी प्राप्त गर्ने अवसर दिनेछ ।
आयोजकका अनुसार प्रदर्शनीमा करिब २५ हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ । साथै देशभरबाट करिब ५ हजारभन्दा बढी विद्युतीय व्यवसायीहरूलाई सहभागी गराउने तयारी गरिएको छ ।
प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ तर अनिवार्य रूपमा पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया, प्रविधि प्रस्तुति तथा व्यवसायिक भेटघाट कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन् ।
महासंघले प्रदर्शनीलाई सफल बनाउन सम्पूर्ण सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ ।