हिमालय एयरलाइन्सले काठमाडौं–सेन्जेन सिधा उडान गर्दै
काठमाडौं। नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–सेन्जेनबीच सिधा उडान भर्ने भएको छ ।
हिमालयले जेठ २१ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेनबाओ आन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई दिन सिधा उडान गर्न लागेको हो । काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्नेछ भने सेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुने कम्पनीले जनाएको छ ।
हिमालय एअरलाइन्स्ले यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।
एयरलाइन्सले भनेको छ, ‘नयाँ सेवा सुरु गर्न पाउँदा हामी रोमाञ्चित छौं, यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउनेछ । यस पहलका साथ, हामीले काठमाडौं–सेन्जेन–काठमाडौं मार्गलाई प्रवर्धन गर्दै हाम्रा यात्रुका लागि आरामदायी र रमणीय यात्रा विकल्प उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’
हिमालय एअरलाइन्सले आफ्ना यात्रुलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेका छौं ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे ऐतिहासिक काठमाडौं–सेन्जेन–काठमाडौं उडानप्रति उत्साह व्यक्त गरे । उनले भने, ‘हिमालय एअरलाइन्सले सधैं चीनमा नयाँनयाँ गन्तव्य खोज्दै नियमित उडान अघि बढाउँदै आएको छ ।
त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ । काठमाडौं–सेन्जेन–काठमाडौं रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्सको उद्देश्यलाई प्रोत्साहन गरेको श्रेष्ठले बताए ।