कपिलवस्तुको कृष्णनगर विद्युत केन्द्रद्वारा चुहावट अभियान जारी, ४६ जना कारबाहीमा
न्युजसेन्टर नेपाल-
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर कपिलवस्तुले विद्युत चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै अनधिकृत रुपमा विद्युत प्रयोग गर्नेहरूमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।
विद्युत चुहावट नियन्त्रण, सुरक्षित विद्युत प्रयोग तथा गुणस्तरीय सेवा प्रवाहका लागि केन्द्रले नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम, सूचना प्रसारण तथा विशेष अभियान सञ्चालन गर्दै आएको छ।
कृष्णनगर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र, लुम्बिनी प्रादेशिक कार्यालय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा सञ्चालन गरिएको चुहावट नियन्त्रण अभियानका क्रममा चालु बैशाख र जेठ महिनामा मात्रै ४६ जना विद्युत चोरी तथा अनधिकृत प्रयोग गरिरहेको अवस्थामा फेला परेका छन् ।
अनुगमनका क्रममा विद्युत चोरीमा प्रयोग गरिएका विद्युतीय उपकरण तथा मिटर नियन्त्रणमा लिइएको थियो । कारबाही प्रक्रियाबाट ४ लाख १९ हजार ६ सय ७६ रुपैयाँ क्षतिपूर्ति रकम असुल गरिएको वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख त्रिलोचन भट्टराईले विद्युत चुहावट नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
“विद्युत चोरी तथा चुहावटले प्राधिकरणलाई मात्र नभई आम उपभोक्तालाई समेत असर गर्छ। चुहावटका कारण लाइन ट्रिप हुने, फ्युज जाने, विद्युत आपूर्तिमा समस्या आउने तथा करेन्ट लाग्ने जोखिम बढ्न सक्छ । त्यसैले हामीले अभियानकै रुपमा नियन्त्रणका कार्यक्रम अघि बढाएका छौं,” भट्टराईले भन्नुभयो ।
उहाँले विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न प्राधिकरणले नियमित रुपमा प्राविधिक सुधारका कामहरू गरिरहेको जानकारी दिनुभयो । “उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत सेवा दिन हाम्रो टोली निरन्तर सक्रिय छ । विद्युतको सही प्रयोग र चुहावट नियन्त्रणमा उपभोक्ताको सहयोग आवश्यक छ,” उहाँले बताउनुभयो।
कृष्णनगर वितरण केन्द्रले आगामी दिनमा पनि चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै विद्युत सेवामा सुधार ल्याउने जनाएको छ।