३८ लाख हिनामिना प्रकरणमा ५ जना पुनः हिरासतमा, २ जना अझै फरार
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको करिब ३८ लाख रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनालाई पुनः हिरासतमा राखिएको छ ।
यस अघि ५ जनालाई वैशाख ३१ गते पक्राउ गरी १५ दिनसम्म हिरासतमा राखी छाडिएको थियो ।
जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरिएपछि उनीहरूलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
हिरासतमा रहेका व्यक्तिहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, आधारभूत स्वास्थ्य सेवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, अस्पतालकी फार्मेसी सहायक रुक्सना खातुन, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र तत्कालीन चन्द्रौटा शाखाका कार्यालय सहयोगी विक्रम केसी रहेका छन् ।
अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख वीरेन्द्र मिश्रा र फार्मेसीष्ट लक्ष्मण रिमाल भने वैशाख देखि नै फरार रहेका छन् ।
यसअघि भएको अनुसन्धानका क्रममा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम बैंकमा जम्मा भएको देखाउन विभिन्न मितिका १२९ वटा बैंक भौचर प्रयोग भएको तर सो भौचरमा उल्लेखित ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंक खातामा जम्मा नभएको पाइएको थियो ।
अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को कारोबारको लेखापरीक्षणका क्रममा भौचर फाइलमा भेटिए पनि बैंक खातामा रकम दाखिला नभएको देखिएपछि अनियमितताको विषय बाहिर आएको थियो ।
त्यसपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा शिवराज नगरपालिका–५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरी दिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सरकारी अस्पतालको रकम नक्कली बैंक भौचरमार्फत हिनामिना गरिएको आशंका देखिएको छ । घटनामा अस्पताल तथा बैंकतर्फका कर्मचारीको मिलेमतो भए/नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पुनः म्याद थपसँगै अनुसन्धान अगाडि बढाइएपछि यस प्रकरणमा थप व्यक्तिको संलग्नता तथा रकम हिनामिनाको वास्तविक प्रक्रिया खुल्ने अपेक्षा गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।